नेपालगञ्ज । विभागीय टोली नेपाल एपीएफ क्लब नेपालगञ्जमा जारी लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फूटबलको फाइनलमा पुगेको छ । बुधबार दिउँसो भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फूटबल संघलाई ३-० गोलले हराउँदै एपीएफ लगातार चौथोमा पुगेको हो ।
नेपालगञ्ज रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन अनिता केसी, निशा थोकर र सविता राना मगरले समान एक/एक गोल गरिन् । पहिलो हाफ एपीएफलाई गोलरहित बराबरीमा रोकेपनि रौतहटले दोस्रो हाफमा तीन गोल बेहोरेको हो ।
खेलको ७३ औं मिनेटमा अनिता केसीले गोल गर्दै एपीएफलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । ८० औँ मिनेटमा निशाले हेडरमार्फत गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । यस्तै निर्धारित समयको अन्तिम मिनेटमा सविताले गोल गर्दै एपीएफलाई जित दिलाएकी हुन् ।
एपीएफको यो लगातार तेस्रो चौथो फाइनल हो । यसअघि एपीएफ एन्फा महिला लिग, इलाम गोल्डकप र राष्ट्रिय महिला फूटबल प्रतियोगिताको फाइनलमा पुग्दै उपाधि जितेको थियो ।
अब एपीएफले उपाधिको लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । फाइनल खेल वैशाख १२ गते हुनेछ ।