सरकार सम्पूर्णरुपमा फेल भइसक्योः माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार सम्पूर्णरुपमा फेल भइसकेको बताएको छ । बुधबार पत्रकार सम्मेलन गरी माओवादी प्रवक्ता अग्नि सापकोटाले वर्तमान सरकार प्राविधिकरुपमा अस्तित्वमा रहेपनि राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको बताएका हुन् ।

उनले सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरित बनेको आरोप लगाए । उनले भने,‘जनता आक्रोशित छन्, आन्दोलित छन्, शिक्षक, निजामती कर्मचारी, चिकित्सक, सहकारी पीडितलगायत सबै आन्दोलित छन् । सरकारको कुशासनका कारण यस्तो अवस्था आयो । गभर्नर चयन गर्न सकेको छैन । सरकारको काम गराइबाट सत्तारुढ दलका नेता नै असन्तुष्ट छन् । यो हाम्रो निष्कर्ष होइन । कांग्रेसकै नेताहरुले भनिरहनु भएको छ प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुग्ने गरेका छन् भनेर । अनि यो सरकार फेल नभएर के भयो त ?’
उनले प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार विरोधी अभियानलाई उल्ट्याएको मात्र नभई सुशासन कायम गर्न लागेका अधिकारीहरुलाई छानीछानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका माग पूरा गर्न भन्दा उनीहरुलाई होच्याउने, अपमानित गर्ने काम गर्दा समस्या समाधान हुन नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *