भारतबाट आएपछि आन्दोलनको मोर्चामा फर्किन्छुः महामन्त्री राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर राणाले भारतबाट उपचार गरी फर्केर आएपछि आन्दोलनको मोर्चामा फर्किने बताएका छन् ।

बुधबार भारतको मुम्बईमा आफ्नो उपचारको लागि जानुअघि राणाले मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा नरोकिने भन्दै उच्च मनोबलसहित आन्दोलनको मोर्चामा कृयाशिल हुन आग्रह गरेका हुन् । उनले आफ्नो रिहाइका लागि पहल गर्नेप्रति धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘ २४ दिने प्रहरी हिरासतबाट केही दिनअघि बाहिर निस्किएको छु । यो बीचमा हाम्रो गिरफ्तारीको बिरोध गर्दै तत्काल रिहाइको माग राखी थप आन्दोलित भएका सम्पूर्ण आदरणीय व्यक्तित्व, नेता, कार्यकर्ता, मानव अधिकारकर्मी, नागरिक अगुवा, बुद्धिजीवी, शुभेच्छुकहरुमा आभार व्यक्त गर्दछु । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायत अरु सबै साथिहरु हिरासतमै हुनुहुन्छ, सबैलाई बिनाशर्त अबिलम्ब रिहाइको माग गर्दछु ।’

त्यस्तै राणाले जनता र एजेन्डालाई केन्द्रमा राखेर अघि बढ्नु ढिला नगर्न पनि आग्रह गरेका छन् । राणाले भनेका छन्, ‘राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन, धर्म, संस्कृति, पहिचानको रक्षा, आर्थिक समृद्धिको निमित्त अब सम्पूर्ण राष्ट्रवादी, हिन्दूवादी, राजावादी, प्रजातन्त्रवादी र परिवर्तन पक्षधरहरु एक ठाउँमा उभिनु पर्दछ । अहिले व्यक्ति गौण कुरा हो, एजेन्डा महत्वपूर्ण विषय हो । सानो चित्त, संकीर्णता, कुण्ठा, व्यक्तिगत महत्वाकांक्षालाई तिलान्जली दिएर देश, जनता र एजेन्डालाई केन्द्रमा राखेर अघि बढ्नु ढिला गर्नु हुँदैन । समान विचार भएकाहरु विभक्त भएर होइन, एकताबद्ध भएर जानुपर्छ । मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा रोकिँदैन, सबै साथीहरु उच्च मनोबलसहित आन्दोलनको मोर्चामा कृयाशिल हुन आग्रह गर्दछु । भगवानको कृपा, तपाईंहरु सबैको शुभेच्छाले चाँडै ठिक भएर फर्किने छु । फर्किना साथ तपाईंहरु सँगसँगै मोर्चामा लामबद्ध हुनेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *