काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै विरोधीलाई सहयोग पुग्नेगरी बोल्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
नेकपा स्थापनाको ७६औं वर्ष प्रवेशको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रकै नेताहरूको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले गाली खानका लागि कुनै गल्ती नै गर्नु नपर्ने बताए । उनले भने, ‘विरोधीहरूले खुब संगठित ढंगले घेराबन्दी र हमला गर्छन्। हाम्रै साथीहरूले पनि कताकता यतिकै विरोध भएको छ त भन्ने कताकता भ्रममा सामेल हुनेगरी बोल्ने गरेको पाइएको छ ।’
प्रधानमन्त्रीले आफूले गति छोड्ने हो भने सबैले हाइहाइ गर्ने अभिव्यक्ति पनि दिए। उनले नेकपा एमालेबाहेकका पार्टीले समृद्ध नेपाल सुखी नेपाली भन्न नसकेको पनि बताए ।
उनले भने, ‘मैले गति छाँडे भन्ने हो भने जेठ महिनाभित्रै हाइ हाइ भइन्छ। तर हाम्रो पथ त्यस्तो होइन । हामी महान परिवर्तनको उद्देश्यबाट आएका हौँ। अब हामीले समृद्ध नेपाल सुखी नेपाली भनेरै बुझाउनपर्छ।’