‘शाही’हरुलाई कहिलेसम्म गर्ने पार्टीले संरक्षण ?

-नारायण गाउँले ।

रड, ईंटा र ढुङ्गा प्रयोग गरी विद्यार्थीहरूको टाउको फुटाएर ज्यान मार्ने कसूरमा दुई वटा आपराधिक मुद्दा अदालतमा दर्ता छन् । एक महिनाअघि मात्रै ड्यूटीमा रहेका प्रहरी जवानलाई सडकमै साङ्घातिक रूपले हमला गरेर फरार भएको छ । फोटो र भिडियो सार्वजनिक भएपछि केही दिनमा आत्मसमर्पण गरेर फौजदारी अभियोगमा अदालतमा अर्को मुद्दा दर्ता छ । धरौटीमा सशर्त छुटेको छ ।

यस्तो व्यक्तिलाई मूलधारको राजनैतिक दलले संरक्षण गर्दै स्ववियु चुनावमा टिकट दिने र अझ शक्तिशाली बनाउने काम आफैंमा आपराधिक होइन र ? देशभरका सरकारी क्याम्पसमा यस्तै यस्तै हुन्छ । जो सबैभन्दा बढी गुण्डागर्दी गर्छ, हिंसा र कुटपिटमा संलग्न हुन्छ, त्यो सबैभन्दा ठूलो नेता हुन्छ । निजीमा पढेमात्रै पुग्ने तर सरकारीमा यस्तो राजनीति गर्न पर्ने किन होला ?

पटक पटक फौजदारी अभियोग लागेका र स्पष्ट रूपले आपराधिक पृष्ठभूमि भएका गोपाल बहादुर शाहीलाई एमालेको भातृ सङ्गठन अनेरास्ववियुले अमृत साइन्स क्याम्पसमा सचिवको उम्मेदवार बनायो र उनले चुनाव जिते ! सबै नेता र पार्टी निकट पत्रकारले बधाई दिए । शाही एक महिनाअघि मात्रै ठमेलमा प्रहरी चढेको मोटरसाइकल नै लडाएर, बर्दी नै च्यातेर, हेलमेटले हिर्काएर तिनलाई घाइते बनाई फरार भएका थिए ।

तिनै शाही चुनाव जितेको एक महिनामैं नेपाल प्रहरीको परीक्षामा अर्कैको नाममा परीक्षा दिँदा दिँदै समातिएका छन् । आफ्नै सरकार भएकाले यसअघिका अपराधमा सफ्ट कारबाही भएका शाही पक्कै यस पटक पनि ठूलो कारबाहीमा पर्ने छैनन् । यस्तो काम र अनुभव तिनका लागि नौलो होइन ।

उता हिजोमात्रै प्रधानमन्त्रीले अख्तियारदेखि सिङ्गो सरकार हुँदाहुँदै तिनैलाई प्रभावकारी बनाउनतिर नलागी सुशासनका लागि आफ्नै नेतृत्वमा उच्चस्तरीय आयोग बनाएको खबर छ ! जय होस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *