-द्वारिकानाथ ढुंगेल ।
मुलुकको परराष्ट्र सम्बद्ध र योसँग सम्बन्धित निकाय, मुन्सीखाना, परराष्ट्र मन्त्रालय र विभिन्न कालखण्डमा यिनमा काम गरेका पात्रहरुका बारेमा अध्ययन, अनुसन्धान र सोधखोजगरी प्रकाशनमा ल्याउने काममा सशक्तरुपमा लागेका पूर्व राजदूत एवं परराष्ट्र सचिव डा. मदनकुमार भट्टराई हालैमा नयाँ प्रकाशन–नेपालको परराष्ट्र सम्बन्ध सङ्क्रमणकाल र प्रो नरेन्द्रमणि दीक्षित–लिएर देखापरेका छन् । उनका अन्य पुस्तकझैं नरेन्द्रमणि दीक्षित सम्बन्धी पुस्तक पनि चाख परख तथा धेरै जानकारी मूलक सामग्री रहेकोमा कुनै दुविधा छैन । यसको लागि लेखक डा. भट्टराईलाई कुनै कन्जुस्याइँ नगरी धन्यबाद दिनै पर्दछ ।
प्रो. दीक्षित सम्बन्धी नयाँ पुस्तकमार्फत डा. भट्टराईले परराष्ट्र मन्त्रालयलाई एउटा महत्वपूर्ण जिम्मेवारीपनि बोकाई दिएकाछन् । किनकी, लेखकले आफ्नो नयाँ पुस्तकको पृष्ठ २०० र २०१ मा नेपाल प्रज्ञा प्रतिष्ठनका पूर्व उपकुलपति स्व. मदनमणि दीक्षितलाई हवाला दिंदै देहाएका कुराहरु लेखेका छन्ः
१. महाराज मोहनशम्शेरको समयमा नेपालले संयुक्त राष्ट्र संघको सदस्यताका लागि आवेदन दियो,
२. आवेदनको आधारमा संयुक्त राष्ट्र संघका महासचिव त्रिग्वे ली ले नेपालको झण्डाको विषयमा सोधखोज गरे । यस विषयमा महाराज मोहनले एक समिति बनाई छलफल चलाए । समितिले चित्त बुझ्दो तर्कपूर्ण वर्णन तयार गर्न नसकेपछि महाराजले संयुक्त राष्ट्र संघमा सदस्यता नै रोकिन्छ भने, झण्डाको नमुनानै बदली सोही अनुसारको निर्णय गराइ जानकारी दिने आदेश दिए,
३. समिति गठन र त्यसको काम बारे जानकारी कुनै स्रोतबाट राजा त्रिभुवन कहाँ पुगेपछि कुनै हालतमा झण्डा नर्फेन र थप अनुसन्धान गर्न राजाले अह्राए,
४. यसैको आधारमा हुन सक्दछ, मुन्सीखानासँग सम्बन्धित सरदार नरेन्द्रमणि आदीले वीरगञ्जमा कार्यरत आफ्ना भतिजा मदनमणि दीक्षितलाई काठमाडौं बोलाई झण्डा विषयमा थप अध्ययन गर्न भारतको पुनास्थित डेक्कन कलेजको पुस्तकालय पठाए, र
५. मदनमणि दीक्षितले डेक्कन कलेज पुगी अध्ययन गरी एक प्रतिवेदन तयार पारे, सोही आधारमा नेपालले झण्डाको बारेमा ठोस प्रमाणसहित संयुक्त राष्ट्र संघ समक्ष महासचिवको पत्रको प्रत्युतर पठायो । तर उपकुलपति मदन मणीले आफ्नो प्रतिवेदन प्रकाशित नगरेकोमा सरकारसँग चित्त दुखाए ।
डा. मदन कुमार भट्टराईले लेखेको जस्तै नेपालले संयुक्त राष्ट्र संघको सदस्यताको आवेदन दिँदा नेपालको लिपीका बारेमा सोधियो र नेपालले रञ्जना लिपी पठाएको थियो भन्ने कुरा व्यापक रुपमा गरिन्छ ।
संयुक्त राष्ट्र संघकाबारेमा जानिफकारहरु उक्त संस्थाले नेपालको झण्डा र लिपीको बारेमा सोध खोज गरिएको दस्तावेज कतै भेटिँदैन र संयुक्त राष्ट्रसंघको वेबसाइटमा पनि भेटिंदैन भन्छन् । अतः संयुक्त राष्ट्र संघका महासचिव त्रिग्वे लीले नै झण्डाको बारेमा सोधपुछ गर्दा राष्ट्र संघ र नेपाल सरकारका बीच औपचारिक पत्राचार भए होलान् । साथै मदनमणिजीले तयार गरेको प्रतिवेदनको आधारमा नेपालले झण्डाको बारेमा ठोस प्रमाण सहित संयुक्त राष्ट्र संघ समक्ष महासचिवको पत्रको प्रत्युतर औपचारिक रुपमा पठायो होला । ती पत्राचारका अभिलेख नेपालको परराष्ट्र मन्त्रालय र संयुक्त राष्ट्र संघमा होलान्, जसलाई अब खोजेर नेपालको परराष्ट्र मन्त्रालयले वास्तविकता बाहिर ल्याओस् ।
अन्यथा पूर्व परराष्ट्र मन्त्री स्व. ऋषिकेश शाहले राजा महेन्द्रलाई कालापानीमा भारतीय बसेको कुरा भन्दा राजाले वास्ता गरेनन् भन्ने भनाई कुनै आधिकारिक दस्तावेज विनानै अधिकांशले मानिदिएझै संयुक्त राष्ट्र संघले नेपालको झण्डा र लिपीको खोजबिन गर्यो भन्ने कुरा सर्व स्वीकार्य हुन पुग्दछ । अतः यस विषयमा परराष्ट्र मन्त्रालयको गभ्मीर ध्यान आर्कषण गराउन चाहन्छु र वास्तविकता बाहिर ल्याउन समेत माग गर्दछु ।