मुलपानीमा वर्षा रोकियो, कभर हटाइदै

काठमाडौं । मुलपानी अन्तराष्ट्रिय क्रिकेट रंगशालामा वर्षा रोकिएको छ । आईसीसी यु-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीच हुने लिग चरणको अन्तिम खेल हुने स्थान मुलपानीमा बिहानैदेखि पानी परेपछि खेल नियमित समयमा शुरु हुन सकेको थिएन ।

अब भने वर्षा रोकिएर कभर हटाउन थालिएको छ । मैदानमा जमेको पानी सुकाउने कार्य जारी रहेको छ । सब एम्पायरले मैदान निरीक्षण गरेपछि टस हुने जानकारी दिएको छ ।

आजको खेलमा जित निकाल्ने टोली आगामी वर्ष जिम्बाव्वे र नामिबियामा हुने विश्वकपमा छनोट हुने भएकाले दुवै टोलीलाई जितको विकल्प छैन । नेपाल र अफगानिस्तान यसअघिका सबै तीन खेल जित्दै तालिकाको शीर्ष दुई स्थानमा रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा ओमालाई आठ विकेट, दोस्रो खेलमा युएईलाई डकवर्थ लुइस पद्दतिको आधारमा पाँच रन र तेस्रो खेलमा हङकङलाई नौ विकेटले हराएको थियो । यता अफगानिस्तानलेपनि पहिलो खेलमा ओमान र दोस्रो खेलमा हङकङलाई समान आठ/आठ विकेटले हराउँदा तेस्रो खेलमा युएई माथि डकवर्थ लुइस पद्दतिको आधारमा १ सय ८० रनले हराएको थियो ।

दुवै टोलीको समान ६/६ अंक भएपनि अफगानिस्तान नेटरन रेटको आधारमा शीर्ष स्थानमा रहेको छ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, ओमान र युएई प्रतिस्पर्धा गरिरहेका छन् ।

छनोटको तयारी स्वरूप नेपालले अफगानिस्तानसँग एकदिवसीय सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपाल २-१ ले पराजित भएको थियो । त्यसैले नेपाललाई आजको खेलमा बदला लिने अवसरपनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *