विचौलिया महात्म्य !

-शारदाप्रसाद त्रिताल ।

हालै सत्तासाझेदार दलका एक महामन्त्रीले विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुन्छ भनेर बोल्नु भएकोमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । कसैले भाइरल हुन यसो भनेका हुन् भनेका छन् भने कसैले सत्ता साझेदार दलको महामन्त्री भएर यस्ता कुरा गर्न मिल्छ भन्ने प्रश्न पनि उठाएका छन् । तर महामन्त्रीले जे भन्नु भएको छ त्यो भने सतप्रतिशत सत्य हो । विगतदेखि नै यस्ता विषय बारम्बार आइरहेकै हुन् । राजकाजका हरेक क्षेत्रमा अहिले विचौलियाको विगविगी छ । सार्वजनिक संचारमाध्यम र खासगरी आजकल सामाजिक सञ्जालमा यस्ता विषयहरु प्रशस्त आइरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनहरुले पनि विचौलियाको भूमिका बारेमा उल्लेख गरेको पाइन्छ । सर्वोच्च अदालतमा समेत विचौलियाको विगविगी छ भनेर न्यायाधीशहरुद्वारा प्रस्तुत प्रतिवेदनहरुमा उल्लेख भएको पाइएको हो । खासगरी ठूलठूला खरीद, महत्वपूर्ण निकायका नियुक्ति, जग्गा जमीनको प्रयोग, वन तथा जलश्रोतका क्षेत्रमा कामकारवाही हुँदा विचौलिया वा माफियाहरुको प्रत्यक्ष भूमिका हुने गरेको छ । अहिले महत्वपूर्ण कानूनहरुको निर्माणमा समेत विचौलिया र स्वार्थ समूहहरु कै रजगज छ । जस्तै भूमि सम्बन्धी कानून, वन सम्बन्धी कानून, जलश्रोत सम्बन्धी कानून, बैंक सम्बन्धी कानून, शिक्षा सम्बन्धी कानून, कर सम्बन्धी कानून, आदि केही उदाहरण हुन् । सचिवलगायत महत्वपूर्ण पदहरुमा पदस्थापन वा सरुवामा समेत विचौलियाको हालीमुहाली छ ।

विचौलिया विभिन्न प्रकृति र तहका देखिन्छन् । मुख्यतः तीन ठूला दलका मुखियाहरुको सीधै पहुँचमा पुग्ने विचौलिया, उहाँहरुका परिवारका सदस्य वा विश्वासिला आफन्तसँग पहुँच भएका, उहाँहरुका सल्लाहकार, स्वकीय सचिव वा अन्य आसेपासेका पहुँचमा भएका महत्वपूर्ण मन्त्रालयका मन्त्रीका पहुँचमा भएका, दलका प्रमुखसँग निकटता भएका नेताहरुसँग पहुँच भएका, आदि । दलका मुखियाहरु र तिनका परिवारका सदस्यसँग सोझै पहुँच भएका विचौलियाहरु ५० करोड भन्दा माथिको डिलवाला हुन्छन् भनिन्छ। अचेल त लाख भन्दा तलको डिल गर्ने विचौला नै पाइँदैन रे । पार्टी पिच्छेका ट्रेड युनियनका पदाधिकारी तथा अन्य कतिपय कर्मचारीले समेत विचौलियाको रुपमा काम गरिरहेका हुन्छन् । मूलतः लामो समयसम्म उही मुखियाहरुको हालिमुहाली हुँदा विचौलियाहरु बढी प्रभावी हुने गरेका छन् । मुखियाहरुलाई पनि काम गर्न सजिलो भइरहेको अनुभव गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *