काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना नहुने भएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले प्रतियोगिता जेठमा आयोजना हुन नसक्ने निर्णय गरेको हो ।
सरकारले जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । राखेप उपाध्यक्ष धुर्व आचार्यसहित एमालेका बोर्ड सदस्यहरूले खेलकुदमन्त्रीलाई भेटेर प्रतियोगिताको विषयमा ध्यानाकर्षण गराएपछि शुक्रबार बोर्ड बैठक आह्वान गरिएको थियो । सरकारको अहिलेको तयारी र समयले प्रतियोगिता जेठमा तोकिएको समयमा हुनसक्ने सम्भावना नदेखिएको सो समूहले जानकारी गराएको थियो ।
खेलकुदमन्त्री चौधरीले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेपछि तीन पटक प्रतियोगिताको मिति सरिसकेको छ । पहिलो पटक यहि वर्ष मङ्सिर २ देखि ९ गतेसम्म आयोजना हुने भनिएको प्रतियोगिता चैत २३ देखि ३० गतेसम्मको लागि सारिएको थियो । त्यसपछि प्रतियोगितालाई सारेर जेठको पहिलो साता पुर्याइएको थियो ।