बेलुन पड्कँदा छानबिन समिति, दुई जनाको ज्यान गएको घटनामा किन मौन ?

काठमाडौं । गत फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने कार्यक्रम थियो । तामझामका साथ भ्रमण वर्ष उद्घाटन गर्ने तयारी थियो । कार्यक्रमको औपचारिक उद्घाटन अघि राष्ट्रिय गान र स्वागत नृत्य भएपछि प्रमुख अतिथि अर्थमन्त्री विष्णु पौडेल, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायत मञ्चको अघि गएर डिजिटल प्रविधिको प्रयोग गरी दीप प्रज्वलन गरेर पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनको तयारी थियो । दीप प्रज्वलनका क्रममा बेलुन पड्केर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भए । पोखरामा प्राथमिक उपचारपछि मन्त्री पौडेल र मेयर आचार्यलाई उपचारकालागि काठमाडौं ल्याइयो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनीहरुको उपचार गरियो । हाइड्रोजन भरिएका बलून आगोनजिक लैजाँदा पड्किन्छ । त्यहाँ पनि भएको त्यही थियो । घटना भएको भोलिपल्ट फागुन ४ गते सरकारले घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन गर्यो । गृहमन्त्रीको मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरियो । समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धा जिल्ला काार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य, समितिको सदस्य सचिव कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री र एक जना विष्फोटक पदार्थ विज्ञ समितिमा थिए ।

छानबिन समिति भोलिपल्ट गठन गरियो भने फागुन ६ गते बेलुन भर्ने ४१ वर्षीय भारतीय नागरिक कमलेस कुमारलाई प्रहरीले पक्राउ गर्यो । बिना कुनै आधिकारिक अनुमति हाइड्रोजन ग्यास उत्पादन गरी बेलुनमा भरेको आरोप लगाउँदै प्रहरीले उनलाई पक्राउ गर्यो । विचरा ग्यास भर्नेलाई पक्राउ गरिएको भन्दै सरकारको सर्वत्र विरोध भयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय कास्कीले कमलेश कुमारलाई हाजिरी जमानीमा रिहा गर्यो ।

विज्ञकाअनुसार हाइड्रोजन प्रयोग भएको बेलुन नजिक आगो भएको झिरझिरेतिर लैजानु नै ठूलो मुख्र्याइँ थियो । ग्यास भर्नेको केही गल्ती थिएन ।

छानबिन समितिले चैत ५ गते गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझायो । समितिले विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने, मञ्चका कार्यक्रमहरूमा प्रज्वलनशील पदार्थहरूको प्रयोग गर्न पूर्ण रूपमा रोक लगाउनुपर्ने र प्रविधिका नाउँमा जोखिम मूल्याङ्कन नगरी कुनै कार्यक्रमहरू औपचारिक समारोहमा समावेश गर्न नहुने लगायतका सुझाव दिएको छ ।
यो छानबिन समिति नै गठन गर्नुपर्ने घटना थिएन । किनकी सामान्य सावधानी नअपनाउँदा घटना भएको थियो ।

चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुले कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएका थिए । कार्यक्रमका कमाण्डर थिए मेडिकल व्यवसायी दुर्गा प्रसाईं । तर कार्यक्रम सुरु गर्नुअघि राष्ट्रिय गान बज्दै गर्दा प्रहरीले मञ्चमा टियर ग्यास हान्यो । त्यसपछि तिनकुने क्षेत्र रणमैदानमा परिणत भयो । प्रहरीले सयौं सेल टियर ग्याँस र गोली चलायो । त्यसपछि प्रदर्शनकारीले तिनकुनेका केही घरमा आगजनी र तोडफोड गरे । प्रहरीको गोली लागि कीर्तिपुरका सविन महर्जनको मृत्यु भयो । त्यसैगरी एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक आगजनी गरिएको घरमा मृत फेला परे । आन्दोलनकारीले केही संचारमाध्यम, नेकपा एकीकृत समाजवादीको कार्यालयमा आगजनी, कोटेश्वरको भाटभटेनी डिपार्टमेन्ट स्टोरमा लुटपाट भयो ।

त्यस्तै उनीहरुले जडीबुटीमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनी गरे । आगजनीबाट जडीबुटी प्रशोधन केन्द्रमा मात्रै २८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । घटनामा २० जना सर्वसाधरणलाई गोली लागेको थियो भने १२९ जना घाइते भएर उपचारका लागि अस्पताल पुगेका थिए । उपचारपछि अरु डिस्चार्ज भएपनि पाँचजना अझै अस्पतालमा उपचाररत छन् । सविन महर्जनलाई सडकमा उभिएर बसेको अवस्थामा गोली लागेको भिडियो सार्वजनिक भएको छ । पत्रकार सुरेश रजकको आगलागी भएको घरमा शव भेटिएको थियो । सुरेशको मृत्यु पनि रहस्यमय छ । सुरेश र सविनको परिवारले मात्र होइन, विपक्षी राजनीतिक दल, नागरिक समाज र विभिन्न संघ संगठनले यो घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग गरिरहेका छन् । तर सरकार न्यायिक आयोग गठन गर्नेबारे मौन छ । घटना घटेको दुई साता पुग्न थालिसक्यो ।  पोखरामा बेलुन पड्केको घटनामा भोलिपल्टै छानबिन समिति बनाउने सरकार किन तिनकुनै घटनामा मौन छ त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *