उदयदेव प्रिमियर लिगमा पाटन भ्याली विजयी

बैतडी । बैतडी जिल्लाको पाटनमा सम्पन्न दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पाटन भ्याली क्रिकेट क्लबले जितेको छ ।

बिहीबार भएको फाइनल खेलमा बनारसी क्रिकेट क्लबमाथि ६ विकेटको जित निकाल्दै भ्याली विजयी बनेको हो । योसँगै भ्याली लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेसँगै भ्यालीले एक लाख एक हजार १११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको बनारसीले ४५ हजार ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

जितका लागि ७३ रनको लक्ष्य पाएको भ्यालीले आठ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा भेट्टायो । यसमा सन्दीप विष्टले सर्वाधिक २८ रनको योगदान गरे । यसअघि श्रीकृष्ण माविको खेलमैदानमा पहिला ब्याटिङ गरेको बनारसी १४ दशमलव तीन ओभरमा ७२ रनमा समेटियो । उसका कुनै पनि ‘ब्याटर’ले सम्झनालायक प्रदर्शन गर्न सकेनन् ।

पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा यही चैत २२ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो । खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक पाटन भ्याली क्रिकेट क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *