काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने उद्देश्यले मन्त्रिपरिषद बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको थियो । त्यसअघि उर्जामन्त्री दीपक खड्काले पाँच पटक स्पष्टीकरण सोधिसकेका थिए । तर कुलमानलाई हटाउन मन्त्रिपरिषद बैठकले नै स्पष्टीकरण सोध्ने र हटाउनुपर्ने भएपछि उर्जामन्त्री खड्काले त्यसको तारतम्य मिलाएर अन्तिम स्पष्टीकरण सोध्ने निर्णय मन्त्रिपरिषद बैठकबाट गराएका थिए । सुक्खा मौसममा भारतबाट आयात भइरहेकोमा त्यसले अपुग हुने र लोडसेडिङ हुने हल्ला चलाइएको थियो । लोडसेडिङ त्यो पनि कुलमानका कारण हुन लागेको भन्ने हल्ला चलाइएको थियो । तर कुलमान भने डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता नबुझाउनेको लाइन काटेर भएपनि उपभोक्ताको घरमा लोडसेडिङ नहुने बताउँदै आएका थिए ।
कुलमानले हिजो पनि लोडसेडिङ नभएको, आज पनि नभएको र आगामी दिनमा पनि नहुने भन्दै आएका थिए । यसैक्रममा चैत ६ गतेको राष्ट्रियसभाको बैठकमा उर्जामन्त्री खड्काले साँझको समय लोडसेडिङ हुने बताए । मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताए । मन्त्री खड्काको भनाई थियो, ‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’ उनले नेपालको लोडसेडिङ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भन्दा पनि भारत र निजी क्षेत्रको भूमिका रहेको बताए । मन्त्री खड्काले प्राधिकरण नाफामा रहेको भनी गरिएको दाबीमा कुनै सत्यता नभएको समेत भन्न भ्याए ।
चैत ६ मा उर्जामन्त्रीले यस्तो बताइरहँदा मौसम सुक्खा नै थियो । आज बिहीबार चैत २८ गतेसम्म आइपुग्दा पनि बुधबार छिटपुट पानी परेपनि मौसम सुक्खा नै छ । नदीनालामा पानीको बहाव बढ्ने गरी पानी परेको छैन । फरक छ त त्यतिबेला प्राधिकरणको कार्यकारी निर्देशक कुलमान थिए भने अहिले हितेन्द्रदेव शाक्य छन् । भारतबाट आउने विद्युत पनि उही छ, मौसम पनि उही छ । तर कुलमान प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोडसेडिङ हुन्छ भनेर अफवाह फैलाएका उर्जामन्त्रीको बोली बुधबार भने फेरिएको छ । बुधबार उर्जामन्त्री खड्काले अब लोडसेडिङ नहुने बताए । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को उद्घाटन गर्दै मन्त्री खड्काले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको र लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे । कुलमान कार्यकारी निर्देशक हुँदा लोडसेडिङ हुन्छ भनेर जनप्रतिनिधिको थलो संसदमा उभिएर हल्ला फैलाउने मन्त्री खड्का नै हुन् । तर आज तिनै मन्त्री हल्लाको पछि नलाग्न भन्दैछन् ।
अहिले मन्त्रीको बोली किन फेरियो भन्ने कुरा आमनेपाली विद्युत उपभोक्ताले बुझिसकेका छन् । मन्त्रीको बोलीलाई लिएर यतिबेला सामाजिक संजालमा उनको आलोचना भइरहेको छ ।
एकजा सामाजिक संजाल प्रयोगकर्ता हुम चौहानले एकाएक कहाँबाट लोडसेडिङ हट्यो भन्दै मन्त्रीलाई प्रश्न गरेका छन् । उनी मन्त्रीलाई व्यंग्य गर्दै लेख्छन्, ‘केही दिन पहिला त नेपालमा लोडसेडिङ छ भन्दै मन्त्री बोल्दै थिए । एकाएक कहाँबाट लोडसेडिङ हटेछ त ? यही हिसाबले हो भने १० वर्ष कुर्न नपर्ने भयो २८ हजार मेगावाट विजुली निर्माण गर्न २/४ दिनमै देश मा विजुलीले कायापलट नै हुनेभयो ।’
अर्का सामाजिक संजाल प्रयोगकर्ता गोपाल आचार्य लेख्छन्, ‘होइन के भन्या बुझ्न सकिएन लोडसेडिङ २०७५ मै कुलमानले हटाइसके अनि कहाँ थियो र अब हुदैन भनेको यो मन्त्रीले ?’
अर्का सामाजिक संजाल प्रयोगकर्ता नवराज घिमिरे प्रश्न गर्छन्, ‘अस्ति कुन मुखले बोलेको मन्त्रीज्यू ?’