काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको बल्खुमा आमसभा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भृकुटीमण्डमा सभा गर्न नदिएपछि बल्खुमा गर्न लागिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ। प्रशासनले सुरक्षाको कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो । सरकारको रवैयाबाट बुझौं– हाम्रो आन्दोलनले उचाई लिदैंछ । आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।’
प्रशासनले भृकुटीमण्डपको सट्टा बल्खु वा सिफल चौरमा सभा गर्न अनुमति दिने निर्णय गरेको थियो । राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष जिल्ला सुरक्षा समितिको बैठकले निकालेको थियो ।