काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले चैत १५ गतेको आन्दोलनपछि पक्राउ परेका नेता–कार्यकर्ताहरुलाई कुनै घटनाका सम्बन्धमा नभई आस्थाका आधारमा पक्राउ गरिएको भन्दै आस्थाका बन्दी घोषणा गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेको छ ।
समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गरी पक्राउ गरिएकाहरुलाई आस्थाको बन्दी घोषणा गर्न संयुक्त राष्ट्रसंघ, एमनेस्टी इन्टरनेसनललगायत विश्व मानवअधिकार समूहसँग अपील गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रगान बजिरहेको बेला प्रहार गर्नेलाई संसारका सबै देशले सबैभन्दा ठूलो राष्ट्रिय शत्रु मान्छन् । प्रधानमन्त्रीले दिएको सो अभिव्यक्ति र राष्ट्रगान गाइरहेको समूहमाथि भएको शक्ति प्रयोग सहितको आक्रमणका सम्बन्धमा देशभित्रकै सुरक्षा संयन्त्र मात्र होइन विश्व मानवअधिकार समुदायले पनि छानबिन गरोस् भन्ने पनि हामी आह्वान गर्दछौं ।’