जर्मनीमा मुद्रास्फीति घट्यो, अमेरिका–युरोप व्यापार विवादले नयाँ चुनौती ल्याउन सक्ने

जर्मनी । जर्मनीको मुद्रास्फीति दर मार्च महिनामा केही घटेको देखिएको छ । यद्यपि, विश्लेषकहरूले व्यापार तनावका कारण आगामी दिनमा उपभोक्ता मूल्यहरू पुनः बढ्न सक्ने चेतावनी दिएका छन् ।

जर्मनीको वार्षिक मुद्रास्फीति मार्चमा २.२ प्रतिशत रहेको छ, जुन फेब्रुअरी महिनाको २.३ प्रतिशत भन्दा कम हो । यो तथ्याङ्क जर्मनीको सङ्ख्या विभाग डेस्टाटिसले सार्वजनिक गरेको हो । यद्यपि, वित्तीय सेवा कम्पनी ‘प्याक्टसेट’ द्वारा गरिएको सर्वेक्षण अनुसार विश्लेषकहरूले मुद्रास्फीति दर २.१ प्रतिशत हुने अपेक्षा गरेका थिए ।

सार्वजनिक ऋणदाता केएफडब्लुको अर्थशास्त्री स्टेफनी शोनवाल्डका अनुसार ऊर्जा मूल्यहरूमा गिरावट आउनु र युरोपियन युरोको अमेरिकी डलरको तुलनामा मजबुत हुनु मुद्रास्फीति घट्नुको मुख्य कारण हो । युरो बलियो हुँदा अन्य देशहरूबाट आउने वस्तुहरू सस्तो पर्न जाने भएकाले आयातित सामानहरूको मूल्य घट्ने गरेको छ ।

तर, आगामी दिनहरूमा अमेरिका र युरोपबीचको सम्भावित ‘भन्सार शुल्क विवाद’ ले मुद्रास्फीति पुनः बढाउन सक्ने खतरा रहेको शोनवाल्डले बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ देखि व्यापार असन्तुलन भएका देशहरूका लागि नयाँ भन्सार शुल्क लगाउने घोषणा गरे । यी शुल्कहरू कुन देशमा कति मात्रामा लागू हुन्छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।

आइएनजी बैङ्कका विश्लेषक कास्र्टेन ब्रेजेस्कीका अनुसार यदि अमेरिका र युरोपबीच व्यापार तनाव बढ्यो भने त्यसले छोटो अवधिमा मुद्रास्फीतिमा दबाब बढाउनेछ ।

यता, मुद्रास्फीति दरमा आएको गिरावटले युरोपियन केन्द्रीय बैङ्क (इसीबी) लाई अप्रिलमा हुने अर्को बैठकमा ब्याजदर घटाउने अवसर मिल्ने देखिन्छ । इसीबी अध्यक्ष क्रिस्टिन लागार्दले सोमबार मुद्रास्फीति दरको भविष्यबारे अझै धेरै अनिश्चितता रहेको बताउनुभयो, जसमा सम्भावित भन्सार शुल्कको प्रभाव पनि समावेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *