काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रनिर्माण सम्बन्धी खाका तयार गर्न मिसन ब्लुप्रिन्ट कार्यदल गठन गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्रीहरु सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सम्मिलित मिसन ब्लुप्रिन्ट कार्यदल गठन गरेको हो ।
त्यस्तै लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ भने पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।
सभापति रवि लामिछाने साढे ५ महिनापछि सोमबार केन्द्रीय बैठकमा सहभागी भई पार्टीको औपचारिक जिम्मेवारीमा फर्किएका छन् ।
पहिलो बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीलाई एकढिक्का बनाई निरन्तर अगाडि बढाउन साथ सहयोग पुर्याउने सम्पूर्ण पार्टी सदस्यहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
केन्द्रीय समितिको दोश्रो बैठक पार्टी सभापति लामिछानेको सभापतित्व सम्पन्न भएको थियो । बैठकमा पार्टी सभापति लामिछानेले राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना कस्तो हुन्छ भन्ने पीडादायक अनुभूति सुनाउँदै पार्टी जीवनको सङ्घर्षपूर्ण समयमा पार्टीको साथी, सदस्य, शुभचिन्तक, अन्य राजनीतिक दलका नेतृत्व तथा सञ्चारकर्मी मित्रहरूले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।
त्यसैगरी आजको दिनमा राज्य सत्ताद्वारा लादिएको पीडा र सबै सङ्घर्षहरू केवल राजनीतिक प्रतिशोधको उपज हो भन्ने स्थापित भइसकेको उल्लेख गर्दै लामिछानेले नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तिनकुनेमा ४ हजारलाई सम्हाल्न नसकेको सरकारले सबै शक्ति केवल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेकोप्रति सचेत गराएका थिए ।
उनले यो गठबन्धनले अब अर्को प्रहार गर्न सक्नेतर्फ समेत ध्यानाकर्षण गराउँदै अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेकोले अब पार्टीको संरचनामा काम गर्न पार्टी सदस्यहरुलाई आव्हान गरे ।
बैठकमा उनले भने, ‘गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र हैन । गणतन्त्र भनेको जनताको तन्त्र हो र त्यो झन्डा हामीले बोक्छौं । गणतन्त्रमा पनि सुधार आवश्यक छ, यहाँ सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्छ, दिएको छ। केही पास भएको छ, केही फेल भएको छ। हालको संविधान र व्यवस्था अन्तर्गत सुधारिएको अभ्यास र आवश्यक परिणामको लागि र यसलाई पास गराउन अब हामी नेतृत्व लिनेछौं ।’ ‘मैले के गर्नुपर्छ भन्नुस् । १५ दिनभित्र के भएन र के गर्नुपर्छ भनेर लिखित रूपमा लेखेर ल्याउनुस्, म पार्टीको लागि २४ घण्टा खट्न, सयौँ किलोमिटर हिँड्न तयार छु।’ बैठकमा सभापति लामिछानेले भने ।