काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत शुक्रबार तिनकुनेमा भएको प्रदर्शनका क्रममा घटित घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले तिनकुने घटनामा कुनै एउटा पक्षलाई दोष दिएर सरकार उम्किन नपाउने बताए ।
‘तिनकुनेको त्यो अराजकता र उदण्डताको हामी विरोध जनाउँछौँ । तर यसमा कुनै एउटा पक्षमात्र जिम्मेवार छैनन्’,उनले भने, ‘ज्यान गुमाएका युवा सविन महर्जनलाई पछाडिबाट गोली हानेको भिडियो बाहिरिएका छन् । उनी भागेका पनि थिएनन्, ढुङ्गा हानिरहेका थिएनन् । पत्रकार सुरेश रजकको मृत्यु पनि शङ्कास्पद छ । यो घटनामा उच्चस्तरीय छानबिन आयोगको माग गर्दछौँ ।’
सांसद झाले सदन शालिन, भद्र र संसदीय प्रणालीअन्तर्गत सदन चलोस् भन्ने चाहेको पनि स्पष्ट पारे ।