काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्रको विकल्प खोज्ने भन्दापनि यसको प्रकृयामा सुधार गर्नुपर्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैकठमा महामन्त्री शर्माले राजा ल्यायो भने देशको विकास हुन्छ भन्ने भ्रम हट्नुपर्ने बताएका हुन् । बुढो भएको नेतालाई मतपत्रबाट बिदा सकिने तर गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने संभावना नरहेकाले व्यवस्थाको विकल्प खोज्न नसकिने बताए ।
उनले भने, ‘आज कसैले गणतन्त्रको विकल्प खोज्दै छ भने बिग्रिएको मोटर बनाउन छोडेर गोरुगाडातर्फ फर्कने काम कसैले नसोचुन् । युवाहरुलाई राजा ल्यायो भने देशको विकास हुन्छ भन्ने भ्रम छ । आजको युवा जमेको पोखरी जस्तो नेतृत्व चाहन्छ कि बगेको नदी जस्तो ? प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीनवटा नेताको वरीपरी घुम्न थाल्यो । राजा ल्याइयो भने उहाँहरुबाट मुक्ति हुन्छ । प्रश्न असन्तुष्टि छ । तर प्रकृया के त ? बुढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौला तर गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने छैन ।’
उनले तिनकुनेको घटनामा सारा जनताको हृदय दुख्दा पूर्वराजा ज्ञानेन्द्र शाहको हृदय नदुखेको बताए ।
उनले भने,‘शुक्रबारको घटनामा सबै राजनीतिक दलको वक्तव्य आएको छ । तोडफोड हुँदा सबैलाई दुख्यो । तर निर्मल निवासलाई दुखेन । नागरिक मर्दैगर्दा धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन । राजा चाहियो भन्ने युवाहरुलाई म भन्न चाहन्छु–तीनकुने घट्नाले तपाईको ह्दयलाई दुख्दै गर्दा हृदय नदुख्ने कस्तो राजा तपाईहरुले परिकल्पना गर्दै हुनुहुन्छ?’