काठमाडौं । काठमाडौंको गोकर्णेश्वर बाहुनधारामा एक व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसरको टोलीले हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार घर भई काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ घर भएका २२ वर्षीय निपु मण्डल, सोही गाउँपालिका–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करन कुमार महतो, सोही ठाउँका २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डल छन् ।
सर्लाहीको चक्रघट्टा–८ घर भइ काठमाडौं गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल साहको हराएको चार दिनपछि गाडिएको अवस्थामा शव फेला परेको थियो । उनी ११ चैतदेखि हराएको भन्दै प्रहरी वृत्त बौद्धमा उजुरी समेत परेको थियो ।
खोजतलासको क्रममा उनको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा १५ चैतमा फेला परेको थियो ।
अनुसन्धानका क्रममा हत्या गरेको खुलेको र अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए । लेनदेनको विषयमा विवाद हुँदा उनीहरुले राहुलको हत्या अनुसन्धानबाट खुलेको उनले बताए ।