पूर्वराजाले बोल्नुपर्छ

-विजयकुमार पाण्डे ।

पोखराबाट फर्कदा पूर्वराजाको (वा शेखर कोइरालाको शब्दभावमा राजा) स्वागतमा एयरपोर्ट आएका जनताको तुलनामा, हिजो फगत एक चौथाई मान्छे तिनकुनेमा जम्मा भएका थिए । त्यसपछि जे भयो जगजाहेर छ ।

अरुले होइन, आदरणीय पूर्वराजाले स्वयम् बुझ्नुपर्छ, नेपालमा कदाचित राजसंस्था फर्काउने नै हो भने पनि, यस्तो ‘कमाण्डर’ ले किमार्थ सक्दैन जो आफ्नो गाडी प्रहरीमाथि हुइँकाएर निषेधित घेरा तोड्छ र तथानाम फोहर गालीगलौच गर्दै मैदानबाट भाग्छ ।

आदरणीय पूर्वराजाको व्यक्तित्वको शिष्टता, विनम्रता र धैर्यको रत्तिभर अंश नभएको मानिस कसरी राजसंस्था फर्काउने आन्दोलनको ‘कमाण्डर’ हुन सक्छ ? हो, प्रसाईजीले उठाएका केही विषय जायज पनि छन् तर उनको हदको जिम्मेवारी बोकेको भनिएको मान्छेको तरिका उचित देखिएन । कमाण्डर पनि कस्तो ? चार जना पुलिसले खोज्ने बित्तिकै फरार हुने मान्छे पनि कमाण्डर हुन्छ ? खोई त रविन्द्र मिश्र त लुक्नु भएन, धवल शम्शेर त लुक्नु भएन ।

साथै,  तिनकुनेमा निजी घरको छानामाथि चढेर प्रहरीले अकारण अश्रुग्यास प्रहार गरे , प्रदर्शनकारीलाई उत्तेजित बनाएको कुरा समाचारमा आएको छ । यो अत्यन्त गम्भीर बिषय हो । यो कुराको निष्पक्ष न्यायिक जाँच हुन जरुरी छ ।

साथै निजी सम्पत्ति लुटपाट गर्ने, आगजनी गर्ने र मिडिया संस्थाहरुमा हिंसक आक्रमण गर्ने, गराउनेहरुमाथि राज्यले, समाजले एक स्पष्ट र स्थिर दृष्टिकोण बनाउनैपर्छ । आन्दोलनका क्रममा तिनकुनेमा गोली लाग्दा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ । तिनकुनेमा आगजनीमा परेको घरमा एभिन्युज टिभीका क्यामेरापर्सन सुरेश रजकले ज्यान गुमाए । पक्षबिपक्षका टिप्पणीकारहरुका लागि, उनीहरु दुबै जना केही समय उत्तेजना र चर्चाका बिषय हुनेछन् । मेरो मन र प्रार्थना चाहिँ यस बखत उनका परिवारजनका साथ छ । अरुका लागि उनीहरु मृतक संख्या हुनेछन् तर परिवारका लागि आजन्म मनको घाउ बनेर बाँच्नेछन् ।

रुपचन्द्र विष्टलाई सम्झँदै छु, जसले दसकौ अघि मलाई भनेका थिए– ‘आफ्नो जिउमा हल्का घाउ, हल्का खत पनि नलागोस्, अरुका छोराछोरी शहिद भएको समाचार दिनहुँ सुन्न पाउँ, भन्ने रहर गर्ने मान्छेहरुको ठाउँ हो यो । बुझिस् !’

लोकतन्त्रको सुन्दरता भनेकै विचारहरुको विविधता हो । तर विविध विचारहरुको द्वन्द्व कसरी हल गर्ने ? कुन माध्यमबाट गर्ने ? यो कुराको निर्णय गर्न हामीले, विशेषत दुबै पक्षको नेतृत्वमा रहेका विवेकीहरुले शान्त भावले, उदार र वस्तुगत विश्लेषण र कठोर निर्णय गर्नुपर्छ । र, यसरी आएको निर्णयलाई लागु गराउन हिचकिचाउनु हुन्न ।

मेरा नियमित दर्शकलाई सम्झना हुन सक्छ, एकबर्ष अघि नै हामीले ‘के राजा फर्कन्छन ?’ भन्ने पोडकास्ट गरेका थियौ । त्यस बखत , त्यसलाई दुबैतिरका केही ‘बौद्धिक जानिफिकार’ ले हाँसेर उडाएका पनि थिए । केही छैन । जीवन यस्तै हो । जीवनले कहिले उचाल्छ , कहिले थचार्छ । दुबै अवस्थामा समभाव राख्न सक्नुमा जीवनको सार्थकता छ । संजाले वातावारण तातेको छ, तर अनुभवले मलाई जटिल परिस्थितिमा धेरै नतात्न सिकाएको छ । फगत तातेर दुनियाँमा केही हुन्न भन्ने मेरो अनुभव छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *