अर्घाखाँची दुर्घटना अपडेटः मृतकको संख्या चार पुग्यो

अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृतक तीन जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका–८ बस्ने ५५ वर्षीया जमुना वस्याल, नवलपरासीको पश्चिम भुमही बस्ने ४५ वर्षीया उमा न्यौपाने, उनकी ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने ४५ वर्षीय बस चालक मदनकुमार विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बस चालक विकको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

यसअघि १५ जना घाइतेको उद्धार गरिएकामा प्रहरीले घटनास्थलबाट थप १२ जनाको उद्धार गरेको जनाउँदै प्रहरी निरीक्षक पौडेलले घाइतेको सङ्ख्या २७ पुगेको बताइ ।

उनका अनुसार घाइतेमध्ये छ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ भने अन्यको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा सुपा मन्दिर दर्शन गरी नवलपरासीका लागि फिर्ता हुँदै गरेको लु २ ख ३०३ नं को बस बस अचानक अनियन्त्रित भई शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक पौडेलका अनुसार चालक विकको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *