विवाहको उमेरमा किन विवाद ?

-राम लोहनी

केही समय यतादेखि ‘विवाहको उमेर’ वा कानुनी रूपमा बालिग ठहरिने उमेरको विषयमा व्यापक चर्चा छ । विषेश गरी युवतीहरूको उमेरलाई लिएर विवाद बढ्दो छ ।

१. केही समयअघि नाबालिका बलत्कारको आरोपमा नेपालका केही कथित ‘सेलिब्रिटी’ हरू आरोपित भए । त्यो विषयमा समाजको ठूलो (खासमा शक्तिकेन्द्रमा रहेका) तप्काले सेलिब्रिटीको दोष देखेन, किशोरीको उमेरमा खोट देखे, कानुनमा खोट देखे । बालिग हुने उमेर ‘यति’ वर्ष भैदिएको भए सेलिब्रिटीलाई आरोप आउने नै थिएन भन्ने जस्ता तर्क उठे ।

२. केही दिनअघि स्त्रीरोगका ‘वरिष्ठ’ विशेषज्ञको हवाला दिएर मिडियामा एउटा समाचार आयो–चाँडो विवाह गर्नु, चाँडो बच्चा जन्माइहाल्नू ।

३. अल्लि अघि प्रधानमन्त्रीले नेपाली युवाहरू वैदेशिक रोजगारीमा जाने हुँदा उताबाट फर्केर (चालिस कटेर रमाउन खोज्दा) बच्चाहरू नहुने मात्र होइन, यता घरबार नै बिग्रने जोखिमलाई ‘मध्यनजर’ राख्दै चाँडो बिहे गरेर बच्चा जन्माइहाल्न युवाहरूलाई अनुरोध गरे । प्रधानमन्त्रीको राय थियो, बच्चा जन्माइदिएर विदेश गए हुन्छ, बच्चा हजुरआमा, हजुरबाहरूले हुर्काइदिहाल्छन्। बच्चा हुर्काउन ‘बाउ’ नभए नि हुन्छ, आमा र अघिल्लो पुस्ता भएसी चालिस कटेसी आएका बाउले हुर्किएका सन्तान देख्न पाउँछन्। यता घरबार पनि बिग्रन्न, उता हुर्कएका पुस्ता बाउ फर्किएसी तिनका ठाउँमा रेमिट्यान्स पठाउन योग्य भैसक्छ । तिनको पनि बिहे गरेर पठाइदिनु र तिनका सन्तान आफूहरूले हुर्काइदिनु भन्ने सल्लाह थियो सायद !

४. संसदमा विचाराधीन ऐनमा बिहे गर्ने उमेर अठार राख्न व्यापक दवाव छ। नगिना यादव नामकी एक सांसदले ‘हर्मोन’ को विकास छिटोछोटी हुने अनुसन्धान रिपोर्टहरूको हवाला दिँदै विवाहको उमेर १८ भन्दा बढाउन नहुने तर्क गरेको एउटा भिडियो क्लिप देखेँ । अर्थात् विवाह गर्ने कानुनी उमेर (स्त्रीहरूको?) १८ मै झार्न संसदमा ठूलै कसरत हुँदैछ । नगिनाले हालको उमेर घटाउन समाजको दवाव रहेको पनि बताएको सुनियो । तर उहाँले भनेको ‘समाज’ मा को को पर्छन् भन्ने चाहिँ बताएको सुनिएन । त्यो समाजभित्र १८ वर्ष उमेरका किशोरीहरू निश्चितै पर्दैनथे । उनीहरूको राय लिनको लागि उनीहरू बालिग पो कहाँ छन् र? हैन त नगिनाजी ?

१८ वर्षमा विवाह गर्ने, १९ वर्षमा बच्चा जन्माउने ! १८ वर्ष भनेको कक्षा १२ पढ्ने सरदर उमेर हो । केटाकेटीहरूले पढ्नु पर्दैन, बच्चा जन्माउने र घरधन्दा गर्ने काम गरे पुग्छ ? कसको स्वार्थमा यस्ता तर्क आइरहन्छन् ? सेलिब्रिटीहरूलाई मुक्त गर्न ? रेमिट्यान्स बढाउन? वरिष्ठ डाक्टरहरू कसको मतियार भैरहेका छन् ? यति निम्छरो बुद्धिले देश हाँक्दैछ । अनि हामी देश विकास भएन भन्छौँ । हामीलाई देश विकास भएन भन्ने नैतिक हकै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *