काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पुर्याउने कामहरु भइरहेको बताएका छन् ।
मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा प्रधानमन्त्रीले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागिपरेको बताए ।
उनले भने, ‘हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने संकल्प बोकेका छौ । केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागेका छन् त्यो स्वभाविक पनि हो । विरोधीहरु लाग्छन् ।’
पछिल्लो समय सरकारलाई बदनाम गर्ने र झुट फैलाउने कुराहरु बढ्दै गएको भन्दै प्रधानमन्त्रीे सरकार यस्ता विषयहरुमा अल्झिएर नबस्ने बताए ।
उनले भने, ‘सरकार र आफू बाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ । कसरी सत्यलाई ढाक्न सकिन्छ, झुटलाई फैलाउन सकिन्छ भनेर यस्तो कुराहरुमा उहाँहरु धेरै नै सक्रिय देखिनु हुन्छ । म यस्ता कुराहरुमा धेरै अलमल गर्न चाहन्न । हामीले देशको विकास गर्नु छ ।’
पूर्वाधारबिना विकास सम्भव नभएको भन्दै प्रधानमन्त्रीले पछिल्लो समय प्रधानमन्त्री हुँदा पूर्वाधारलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताए ।