काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफू गलत भए जेल हाल्न चुनौती दिएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै मेयर साहले आफू गलत भए जेल हाल्न चुनौती दिएका हुन् ।
उनले भनेका छन्, ‘यति धेरै कानुन मिच्ने, भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुराचाहिँ भाषणमा सुन्नुपर्ने । माथिको कुरा गलत भए मलाई जेल हाल ।’
कानुनविपरीत काठमाडौं टावरको नक्सापास गरेको भन्दै गुरागाईंलाई मेयर साहले निलम्बन गरेका थिए । गुरागाईंमाथि छानबिन गर्न गत पुस १४ गते महानगर प्रमुखस्तरीय निर्णय गरिएको थियो ।
सोहीअनुसार पुस १६ गते कानुनी सल्लाहकार शेखरप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । तर, पौडेलले कानुनी सल्लाहकारबाटै राजीनामा दिएपछि नेपाल सरकारका पूर्वसचिव शंकर पाण्डेको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिएको थियो ।
उनले यसअघि प्रतिवेदन सार्वजनिक गरेका थिएनन् । गुरागाईंलाई हाजिर गर्न नदिएपछि सरकारले उनको स्थानमा अर्को प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन ।
जसका कारण काठमाडौं महानगरपालिकाका सरसफाई कर्मचारीले विगत ती महिनादेखि तलब पाएका छैनन् । यसअघि सोमबार राति मेयर साहले अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने भन्दै स्टाटस लेखेका थिए ।