‘टिआरसी’ आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको हो ।

समितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्ति, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य तोकिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आजै संक्रमणकालीन न्याय (टिआरसी) सँग जोडिएका आयोग गठनका विषयमा छलफल भएको थियो ।

सोही छलफलका आधारमा सिफारिस समिति गठन गरिएको हो । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न सरकारले समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ ।

सिफारिस समिति गठन भएको बढीमा दुई महिनाभित्र दुवै आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *