जलस्रोत विधेयक, २०८१ पूर्वाधार विकास समितिबाट पारित

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले जलस्रोत विधेयक, २०८१ लाई सर्वसम्मत पारित गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौसारियाको उपस्थितिमा आज सिंहदरबारमा बसेको समितिको ४८औँ बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।

जलस्रोतको दिगो विकास, उपयोग र संरक्षण एवम् व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँड, मौसम तथा जलउत्पन्न विपद् न्यूनीकरण, बाँधको सुरक्षा र अन्तरपुस्ता समन्यायका आधारमा सुनिश्चित गर्न उक्त विधेयक ल्याइएको हो ।

बैठकमा ऊर्जामन्त्री खड्काले लामो छलफल र मेहनतकपछि विधेयक पारित भएको भन्दै समिति सदस्यलाई धन्यवाद दिए । विधेयक जनताको सरोकारको विषय भएकाले समितिका सबै सदस्यको धारणालाई समेटेर सर्वसम्मत पारित भएकामा उनले खुसी व्यक्त गरे ।

कानुनमन्त्री चौरासियाले लामो छलफलपछि विधेयकलाई अन्तिम रूप दिएको भन्दै सांसदले गरेको निर्णयलाई कानुन मन्त्रालयले स्वीकार गरेर अगाडि बढ्ने बताए ।

विस २०८१ असार १४ गते प्रतिनिधिसभामा प्रस्तुत भएको उक्त विधेयक प्रतिनिधिसभामा सामान्य छलफल गरी असार २५ गते दफावार छलफलका लागि प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा पठाइएको थियो । समितिमा नौ महिनाको छलफलपछि विधेयक आज सर्वसम्मत रूपमा पारित भएको हो ।

प्रतिनिधिसभाका सदस्यबाट प्राप्त संशोधन प्रस्ताव, सरोकार भएकाहरू, विज्ञबाट प्राप्त सुझावलाई समेत आधार मानेर विधेयकलाई सर्वसम्मत पारित गरिएको समिति सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *