भोजराज पोखरेल ।
देशको परिस्थिति जटील दिशातर्फ उन्मुख रहेको समयमा आज तीन दलका प्रमुख नेताको बैठक हुने समाचार सुनियो । यो बैठक सत्ता र शक्ति बाँडफाँटमा सीमित नहोस् । देशमा बढ्दो नैरास्यतालाई चिर्न र आमजनतामा सकारात्मक सन्देश दिने तर्फ केन्द्रित होस् । त्यसको सुरुवात आजैको बैठकबाट यी तलका ७ वटा बुँदामा समेत सहमति गरेको समाचार सुन्न पाइयोस् –
१. संसदमा विचाराधीन रहेको अख्तियारसम्बन्धी विधेयकमा मन्त्रिपरिषदका नीतिगत बाहेकका अरु निर्णय अख्तियारको कार्यक्षेत्रमा पार्न,
२. राज्यका अंगमा भइरहेको दलियकरणको अन्त्य गर्न,
३. सरकारी श्रोतबाट तलव खाने कुनैपनि राष्ट्र सेवक कर्मचारी ट्रेड युनियनमा आवद्ध हुन नपाउने व्यवस्था गर्न,
४. चर्चामा रहेका ठूला भ्रष्टाचारका काण्डको प्राथमिकताकासाथ छानबिन गरेर अघि बढाउन मन्त्रिपरिषदको निर्णयबाटै अख्तियारलाई औपचारिक रुपमा आग्रह गर्न,
५. संवैधानिक नियुक्तिहरु हाम्रा होइन राम्रो गर्नका लागि सार्वजनिक सुनवाइबाट अनुमोदित व्यक्तिहरूको रोष्टरबाट मात्र संवैधानिक परिषदले नियुक्ति गर्नेगरी तत्कालै कार्यविधि जारी गर्न,
६. संविधानको मर्म र भावना अनुसार संघको अधिकार स्थापित गर्न, र
७. ‘नेताराजको अन्त्य’ गर्ने क्रममा लामो समयदेखि सत्ताको खेलमा मात्र रमाइरहेका सबै शीर्ष नेतृत्वले सकृय राजनीतिबाट स्वेच्छाले बिदावारी लिन ।
–पोखरेल पूर्वप्रमुख निर्वाचन आयुक्त हुन्