काठमाडौं । नेपाली कांग्रेसले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको बताएको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समिति बैठकले कांग्रेस लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेका र रहिरहने बताएको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिवद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ । संविधानको संरक्षण, सम्वद्र्धन र कार्यान्वयन मार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेसको दृढ विश्वास छ । यही विश्वास साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै नेपाली कांग्रेस यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ ।’