सरकार चलाउनका लागि मात्र कांग्रेस-एमाले गठबन्धन बनेको होइनः महासचिव पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार सरकार चलाउनको लागि मात्र नबनेको बताएका छन् ।

आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले लोकतान्त्रिक प्रणालीमाथि नै चुनौति उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको बताए ।

उनले भने, ‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जतिबेलासम्म यी दुई पार्टी मिलेनन् तबसम्म देशमा तानाशाही व्यवस्था रहिरह्यो, जब देशलाई संकट पर्छ, तब कांग्रेस र एमाले मिल्ने गर्दछन् ।’

उनले माओवादीको सशस्त्र द्वन्द्वको निशान राजा नभएर कांग्रेस र एमाले भएका पोखरेलले बताए । माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको उनको भनाइ छ ।

नेपालको राजनीतिमा नेपाली कांग्रेसले जतिबेला संसद् विघटन गर्छ, त्यतिवेला सदर हुने तर एमालेले विगठन गर्दा अमान्य हुने गरेको पोखरेलले बताए । नेपालको न्याय निरूपणको प्रक्रियामा अदालतको समेत दोहोरो चरित्र देखिएको पोखरेलको गुनासो छ ।

आज राजावादीहरुले लोकतन्त्रमा देश विकासको कुनै काम हुन सकेन भनेर भ्रम फिँजाइरहेका बताउँदै पोखरेलले राजाको पालामा भएको विकास र लोकतन्त्रमा राजनीतिक दलले शासन गर्दा भएका विकास तुलना गरेर हेर्न आग्रह गरे ।

पोखरेलले कू–तर्क गरेर जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई चेतावनी दिए । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *