-नारायण गाउँले ।
जम्मा सय रूपियाँको टिकट काटेर तपाईंले चाहेको समयमैँ विशेषज्ञ डाक्टरलाई भेट्न पाउनुहुन्छ र तत्काल उपचार सुरु हुन्छ भन्ने कुरो एउटा अमेरिकन या बेलायती नागरिकलाई सुनाउनुस्, उसका लागि त्यो अविश्वसनीय आश्चर्य हुनेछ । एक सय रूपियाँको ओपिडी टिकट, त्यो पनि महानगरमा । सरकारी हो कि भन्नु होला, होइन । अन्तर्राष्ट्रिय स्तरको निजी अस्पताल । विश्वको धेरै कुनामा त्यही टिकट छाप्न पनि डेढ सय रूपियाँ लाग्न सक्छ । नेपालको भरतपुर महानगरस्थित चितवन मेडिकल कलेजमा यो सम्भव छ । अन्य धेरै स्वास्थ्य संस्थामा पनि यो सम्भव होला । प्रायः सबै सरकारी अस्पतालहरूमा यो सम्भव छ ।
बेलायतमा स्वास्थ्यसेवा निःशुल्क छ । तर ‘राष्ट्रिय बीमा’ शीर्षकमा कामदार र रोजगारदाताबाट तलबको २०% भन्दा बढी पैसा मासिक बुझाउनुपर्छ । यो स्वास्थ्य सेवा र सामाजिक सुरक्षामा खर्च हुन्छ । आयकर या अन्य कर त छँदै छ । झट्ट हेर्दा निःशुल्क भए पनि यदि कामकाजी जीवन छ भने तपाईले जीवनकालमा ठूलो रकम ’नेशनल इन्सुरेन्स’ शीर्षकमा बुझाउनुभएको हुन्छ । काम गर्न नसक्ने अवस्थाका नागरिकलाई पनि स्वास्थ्य र सामाजिक सुरक्षा (बेनिफिट) भने उपलब्ध छ । सक्नेले योगदान गर्ने र सबैले सुविधा पाउने यो नीति राम्रो मान्न सकिन्छ !
अङ्ग प्रत्यारोपण, ठूला ठूला शल्यक्रिया, दीर्घकालीन र गम्भीर स्वास्थ्य समस्या र भर्ना नै हुनुपर्ने इमर्जेन्सी स्वास्थ्य अवस्थामा निःशुल्क सेवासँग हाम्रो कुनै तुलना हुन सक्दैन । मुटुको शल्यक्रिया, आइसीयूको एक महिना बसाइ या गम्भीर क्यान्सरको लामो उपचारजस्ता कुरामा घरघडेरी नै बेच्न पर्ने अवस्थासँग निःशुल्क उपचारलाई तुलना गर्नु मूर्खता नै होला । पाँच मिनेटमैं घरको दैलोमा आइपुग्ने प्यारामेडिक्ससहितको मिनिहस्पिटलजस्तो एम्बुलेन्स पनि तुलनाको विषय भएन । हामी त्यसको वरपर पुग्न धेरै लामो बाटो हिँड्नै छ !
तर सबै स्वास्थ्य समस्या भर्ना या शल्यक्रिया गर्नै पर्ने खालका हुँदैनन् । आकस्मिक सेवामा आएका बिरामीमध्ये पनि जम्मा २८% मात्रै भर्ना गर्नपर्ने खालका हुने इङ्गल्याण्डको तथ्याङ्क रहेछ । बहिरङ्ग (ओपीडी) सेवा लिनेहरू त डाक्टरलाई देखाउने र औषधि सेवन गर्ने नै धेरै हुन्छन् । भन्न खोजेको के हो भने हामीमध्ये धेरैले लिने स्वास्थ्य सेवा विशेषज्ञ डाक्टरलाई भेट्ने र औषधि सिफारिस गर्ने खालकै हुन्छ ।
हो यही आधारभूत सेवा भने बेलायतमा एकदम अप्ठेरो छ । भनेको बेला डाक्टरसँग समय नपाइने, इमरजेन्सी सेवामा पुगेर पनि १०–१२ घण्टासम्म कुर्न पर्ने र पत्थरी, पाठेघरको समस्या या हर्नियाजस्ता समस्याको उपचारका लागि महिनौं प्रतीक्षा गर्न पर्ने अवस्था छ । तपाईको दाँत दुख्यो भने, पेट दुख्यो भने या घुँडामा पीडा छ भने एकदुई दिनमैं डाक्टरलाई भेट्न पाउने सम्भावना एकदम कम हुन्छ । एउटा अपोइन्टमेन्टमा एउटा मात्रै समस्या राख्न पाइन्छ । तपाईले चाहेर ’फूल बड़ी चेकअप’ हुँदैन । यसो चाहँदैमा कोलेस्ट्रोल या थाईरोइडको परीक्षण हुँदैन ।
हो यो मुख्य सेवामा नेपालको शहरी क्षेत्रमा ठूलो क्रान्ति भएको छ । भनेको बेला, एकदम सस्तो मूल्य तिरेर डाक्टर भेट्न र उपचार गर्न पाउनु ठूलो क्रान्ति हो । यद्यपि यो क्रान्ति राजधानी र केही शहरमा सीमित छ र एउटा डाक्टर भेट्न तीन दिन हिँड्न पर्ने अवस्था पनि हामीकहाँ छ । आधारभूत स्वास्थ्यसेवा, जनशक्ति, उपकरण र औषधि पनि देशभर पुग्न सकेको छैन । जुन पक्कै पीडादायी छ ।
तर जे छ, त्यसको महत्त्व र मूल्य बुझ्ने प्रयास भने आफैंमा गलत नहोला । नेपालजस्तो सस्तो टिकटमा निजी हस्पिटलमा डाक्टर भेट्न पाइने हुन्थ्यो भने बेलायतमा अर्को क्रान्ति हुन्थ्यो । यो पनि तुलना होइन, सन्दर्भ मात्रै हो । वैश्विक सन्दर्भमा हेर्ने हो भने तुलनात्मक रूपले सस्तो भएर पनि हाम्रो प्रतिव्यक्ति आय र राष्ट्रिय मुद्राको मूल्य कम भएकाले स्वास्थ्यसेवा महँगो हुन गएको हो ।
अमेरिका या युरोपबाट दाँत बनाउन, कपाल रोप्न या शरीरको सर्वाङ्ग परीक्षण गर्न नेपाल जाने गरेको उदाहरण भेट्न थालिएको छ । स्वास्थ्य पर्यटनको सम्भावना बढ्दै गएको छ । यो खुशीको कुरो हो ।
राष्ट्रिय आय कम भएर पनि हामीकहाँ वृद्धभत्ता छ । स्वास्थ्यमा वृद्धवृद्धालाई अनेक थरी छुट छ । मृगौलादेखि जलनसम्मका विभिन्न रोग र समस्याको निःशुल्क उपचार छ । बालबालिकालाई क्यान्सरको उपचार निःशुल्क छ । स्वास्थ्यचौकीहरूमा कतिपय औषधि निःशुल्क छन् । प्रसूति सेवाहरू छन् । बीमाको व्यवस्था छ । धनी देशले समेत नागरिकबाट नउठाई यस्ता सेवा दिन सकेका छैनन् ।
हो, हाम्रो जनस्वास्थ्यमा अनेक समस्या छन् । रोग नै लाग्न नदिन धेरै गर्न सकिन्छ । प्रदूषण नियन्त्रणदेखि खाद्य सुरक्षामा ध्यान दिने हो भने मात्रै पनि धेरै रोग नियन्त्रण हुन्छ । पौष्टिक आहारको कमीले पनि हामी बढी रोगी छौं । राम्रो उपचार शहरभित्र सीमित छ । सरकारी अस्पतालहरूमा व्यवस्थापनको चुनौती छ । जटिल र दीर्घकालीन रोगले हाम्रो आर्थिक स्थितिलाई चुनौती दिन्छ ।
फरक-फरक होलान्, तर समस्या विश्वभर छन् । हामीसँग अलि बढी होला तर समस्या नभएको कुनै देश छैन । समस्या भनेको अवसर पनि हो । सीमित साधनस्रोतमा असीमित काम गर्न पर्ने अवस्थामा हामी छौं । सिङ्गापुर बनाउने, स्विट्जरल्याण्ड बनाउने भन्ने भाषण त नाराबाजी मात्रै हुन्, तर अबको दशबीस वर्ष देशले अलिकति डायनामिक नेतृत्व पाउने हो भने प्लसटू पढ्दै गरेको बच्चाले विदेशी भिसाबारे सोच्न थाल्ने राष्ट्रिय मनोविज्ञान पक्कै परिवर्तन हुनेछ ।