एपिएफलाई राष्ट्रिय महिला फूटबलको उपाधि

काठमाडौं । चितवनमा भएको राष्ट्रिय महिला फूटबलको उपाधि विभागीय टोली नेपाल एपीएफ क्लबले जितेको छ । शनिबार दिउँसो भएको  फाइनल खेलमा त्रिभुवन आर्मी फूटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपिएफले उपाधिमा ह्याट्रिक गरेको हो ।

भरतपुरमा भएको फाइनल खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि टाईब्रेकरमा पुगेको खेलमा एपीएफ सफल भएको हो । खेलको १३ औं मिनेटमा आर्मीकी बिमला चौधरीले गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । ७५ औं मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै एपीएफलाई खेलमा फर्काएकी थिइन् ।

उपाधिसँगै एपीएफले तीन लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा आर्मी एक लाख पचास हजारमा चित्त बुझाएको छ । फाइनल खेलमा एपीएफकी प्रीति राई ‘प्लेयर अफ द म्याच’ चुनिन् । उनले १० हजार रुपैयाँ पाइन् । आर्मीकी चन्द्रा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ४० हजार रुपैयाँ प्राप्त गरिन् ।

यस्तै एपीएफकी सावित्री किसन उत्कृष्ट गोलरक्षक, आर्मीकी विमला विक उत्कृष्ट डिफेन्डर, एपीएफकै रेनुका नगरकोटे उत्कृष्ट मिडफिल्डर, आठ गोल गरेकी एपीएफकी रश्मी कुमारी घिसिङ सर्वाधिक गोलकर्ता र एपीएफका जीवेश पाण्डे उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले जनही २० हजार रुपैयाँ प्राप्त गरे।

यसअघि एपीएफले राष्ट्रिय महिला लिग र इलाममा भएको महिला गोल्डकप जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *