काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का नेपाल विद्युत प्राधिकरणक कार्यकारी निर्देशक कुलमान घिसिङप्रति नकारात्मक छन् भन्ने छ उनको अभिव्यक्तिबाट सुनिँदै आइएको थियो । तर लामो समयदेखि लोडसेडिङबाट मुक्त भएका आमउपभोक्तालाई गत बुधबारको राष्ट्रियसभाको बैठकबाट उर्जामन्त्री खड्काले अब साँझमा लोडसेडिङ हुने खबर सुनाए । लोडसेडिङ पनि कुलमानका कारण हुन लागेको उनले बताए । उनले उज्यालो नेपालको नायक कुलमान नभएर भारत र उर्जा उत्पादक निजी क्षेत्र रहेका बताए । उर्जामन्त्री त्यतिमा मात्र रोकिएनन्, उनले प्राधिकरणको नेतृत्वका कारण प्राधिकरण घाटामा गएको समेत भन्न भ्याए ।
उनले भने,‘प्राधिकरणको आम्दानी यति अर्ब छ भनेर दाबी गरे पनि त्यो गलत हो । म बोर्डको अध्यक्ष भएकाले डिडिए गरौं न त भनेको हो । बाहिरको बुझाइ एउटा छ, महालेखाले साढे दुई खर्ब घाटा छ भन्छ । यथार्थ कुरा बाहिर ल्याउनु मेरो दायित्व हो नि त । यथार्थ कुरा भन्दा भन्दै पनि यथार्थ कुरामा छानबिन गर्न नलागेर माननीयज्यूहरु आलोचनातिर लाग्दा दुःख लाग्छ ।’
तालुकदार मन्त्रीले लोडसेडिङको हल्ला चलाएकोप्रति प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने आपत्ति जनाएका छन् । उनले लोडसेडिङ पनि नभएको र हुँदा पनि नहुने बताएका छन् । उनले लोडसेडिङ नहुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।
कुलमानलाई हटाउने उद्देश्यले उर्जामन्त्री खड्काले आधादर्जन पटक स्पष्टीकरण सोधिसकेका छन् भने अन्तिम पटक मन्त्रिपरिषद बैठकले समेत स्पष्टीकरण सोधिसकेको छ । तर कुलमानलाई हटाउने उद्देश्यले मन्त्रिपरिषद बैठकले स्पष्टीकरण सोधेपनि कुनै निर्णय भने भएको छैन । लोडसेडिङ हुने अवस्था भएपनि त्यसको व्यवस्थापन गर्नुपर्नेमा उल्टै मन्त्रीले लोडसेडिङको हल्ला चलाएपछि भने मन्त्रीको सर्वत्र आलोचना भइरहेको छ । लोडसेडिङको हल्ला चलाउने मन्त्रीलाई हटाउनुपर्ने माग भइरहेको छ ।
राजनीतिक विश्लेषक मुमाराम खनाल नेपाली कांग्रेसलाई उर्जामन्त्रीलाई फिर्ता बोलाउन सुझाव दिन्छन् । उनको सुभाव छ, ‘हेलो, नेपाली कांग्रेस ! थोरै इज्जत र आचरण बाँकी छ भने भ्रष्टाचारी, नदीमा होटल बनाउने र स्काउटको भाडा नतिर्ने उर्जा मन्त्रीलाई फिर्ता गर । नत्र उनको चुरीफुरी कांग्रेसको काल बन्नेछ। प्रधानमन्त्री ओलीलाई त आफ्नै बारेमा सोच्ने होस् छैन, कांग्रेसी मन्त्रीको बारेमा सोच्ने होस् कहाँबाट आओस्।’
त्यसैगरी गीतकार राजेन्द्र थापा लोडसेडिङ कुलमानले होइन, भारतले दिएर हो अब खुचिङ भन्ने प्रमाणित गर्न लागिपर्नु गलत भएको बताउँछन् । उनी सामाजिक संजालमा लेख्छन्, ‘कस्तो गणतन्त्र यो ? उर्जामन्त्री हर्षसाथ घोषणा गर्छ सदनमा अब भारतले पावर कट गरेकोले लोडसेडिङ हुन्छ हा हा हा । लोडसेडिङ कुलमानले होइन भारतले दिएर हो अब खुचिङ भन्ने प्रमाणित गर्न लागिपरेको देखिन्छ । तर विज्ञ भनेको विज्ञ हो । लडाकु कुलमान भन्छन् म भएसम्म लोडसेडिङ हुन नदिन मेरो ज्ञानको उपयोग गर्छु । भारतबाट घटेकोलाई एडजस्ट गर्न दिनमा भारतको चलाउँछु र नेपालको तलाउवाला बन्द गर्छु र पानी बचाउँछु । राति मात्र यिनलाई फुल पावर चलाउँछु पिक जरुरत समय र रोक्छु लोडसेडिङ । उद्योगलाई पिक टाइममा बन्द गर्छु । किन गर्ने लोडसेडिङ ? अब बहुलाउने पालो सरकारको । नसकिने भो यो कुलेखानीको सरोवरको पानीजस्तो लबालब बुद्धि भरेको कुलमानसँग । नाम अनुसार कुल भएर कामको मान राख्ने तर सरकारको गलत आदेश मान भने नी नमान्ने । काङ्ग्रेस एमाले सरकारलाई गाह्रो । लुटेरा उद्योग माफियालाई पैसा नतिराई लाइन दिन्न भनेर रुवाइरहेको छ दुबै दलका ठालुहरुलाई ।’
नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सिनाले चाहिँ मन्त्रीले भारतलाई धन्यवाद भन्ने कुन तरिका रहेछ भनेर प्रश्न गरेकी छन् । उनी सामाजिक संजालमा लेख्छिन्, ‘यो त बुझेकै हो । भारतलाई धन्यवाद भन्ने कुन तरिका रहेछ भन्ने कुरा दानव बनाउन नमिल्ने मन्त्रीज्यूले सफेद बताए आभारी हुने थिएँ म चाहिँ ।’
नेपाल सरकारका पूर्वसचिव मधुरमण आचार्य यो कार्यकारी हटाउने उर्जामन्त्रीको एक मात्र धन्दा भएको बताउँछन् । उनी लेख्छन्, ‘लोडसेडिङ्ग हुने भो भन्दा रमाउने बिजुली मन्तरी ! कार्यकारी हटाउने एक मात्र धन्दा ! ज्यास्तै भो !!’