राजावादीको सक्रियातापछि नेताहरु ‘गद्यात्मक’, ‘पद्यात्मक’ र ‘अग्नि रस’का साथ मैदानमा उत्रिनु जरूरी छ र ?

जेपी गुप्ता ।
आफ्नो दलमा मनोकांक्षा हुन्जेलसम्म निष्कण्टक अध्यक्ष, मुलुकको कार्यकारी प्रमुख, संसदीय बहुमतमा असन्दिग्ध, अन्तर्राष्ट्रिय मान्यता, न्यायपालिका, सेना, प्रहरी–सबैको अविच्छिन्न् सहयोग पाइरहेको प्रधानमन्त्रीले पूर्व राजा ज्ञानेन्द्र शाह तथा उहाँद्वारा संयोजित अनि पृष्ठपोषित नवराज सुवेदी नेतृत्वको पक्षसँग के पौँठेजोरी खेल्नु परेको होला ।

ज्ञानेन्द्र शाहको अभियानमा के षड्यन्त्र खोज्नु ? पाँच–सात पटक मुलुकको सर्वेसर्वा प्रधानमन्त्री भैसकेका व्यक्ति आठौं र दशौं पटक पुनः सोही पदका लागि व्यग्र रहने अमीट अनि चिरन्तर सत्ता–तृष्णाको यस मुलुकमा शताब्दीऔंसम्म राजा रहेको परिवारका, राजा भैसकेका व्यक्ति सिंहासनबाट हट्नु परे पछि पुनः राजा हुने चाहना राख्नु कति अस्वभाविक तथा अनपेक्षित हो र ?

ज्ञानेन्द्र शाहजीका पछि मानिसहरू लागे । सदा लागेकै हुन् । बि.स. २०१५ को पहिलो संसदमा बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले तेत्रो प्रबल बहुमत पाउँदा पनि जनताका ठूलै समुह सशक्त विरोधमा थियो नै । लगातार ३२ बर्षको पंचायती व्यवस्था जसमा राजाको सकृय नेतृत्व थियो–काँग्रेस र कम्युनिष्टहरूले अथकित बिरोध गरि नै रहे । बि.स. ०४७ सालमा बहुदल आयो। पूर्वपंचहरूले चुनावमा राम्ररी प्रचार पनि गर्न पाएनन्, दिइएन, सर्वत्र अवरोध रह्यो । तैपनि, तत्पश्चातको सबै संसदहरूमा राजाका पक्षधर राप्रपा जस्तो दल उपस्थित रह्यो नै । त्यही श्रृंखला त हो नि अहिलेको ।

प्रधानमन्त्रीजी, देउवा जी, प्रचण्ड जी–उहाँहरूका पुरै दलीय शक्ति अहिले जुन रूपमा उत्रिनु भएको छ, जुन भाषा शैलीका साथ गद्यात्मक, पद्ययात्मक, वीर रस, अग्नि रसका साथ मैदानमा देखिइरहनु भएको छ, यसको के जरूरी छ र ?

ज्ञानेन्द्र शाहजी अहिले बढी सकृय देखिनु भएको छ । केही दिनअघि मात्र सबैले बुझ्ने भाषामा आफ्नो शासकीय इच्छा बताउनु भयो । तत्पश्चात अनायास रातोरात उहाँको पक्षमा मानिस ओर्लेका होइनन् । उहाँले त मठ मन्दिरहरू घुम्दै रहँदाको बखतमा उहिल्यैदेखि सडकमा नवयुवक–नवयुवतिीहरूले ‘लभ यू ओली बा’ भनी फ्लाइङ किस गर्न छोड्दै गएको, त्यो लहर ओर्लदै गएको बुझेको पो हो त ! कुनै समय ‘शेरे सुदूर पश्चिमाञ्चल शेरबहादुर जिन्दावाद’ को गगनभेदी नारा विस्थापित भई उहाँकै गृह जिल्ला डडेल्धुरामा मुर्दावादका नारा लागेको बुझेको पो हो त !

गत आम निर्वाचनमा रवि लामिछानेको नव गठित दलले अप्रत्याशित रूपमा उल्लेख्य जनमत पाएपछि–सबैले बुझेका थिए की पुराना दलहरू प्रतिको आम निरासाले स्थान पाउन लागेको हो । पूर्वराजा ज्ञानेन्द्र शाहले पुनः सत्तामा जानका लागि पुरानो राजतन्त्रलाई कसरी रूपान्तरण गर्ने, दलहरूको लगभग स्थायी जस्तै प्रभाव तथा विद्यमान संरचनामा सहभागितासँग कसरी सामन्जस्य मिलाउने–यस्तो दुरूह तथा झन्झटिलो बाटो तिर लागेको देखिन्न । बरू, आफ्नो पुनः राजा हुने इच्छालाई सडकमा पोखिएर बगिरहेका सरकार र दलहरू प्रतिको जनविद्वेशको बेगमा सँगसँगै बगाएर अनुकूलित परिणाम हासिल गर्न पो चाहेका हुन त । बस्, गणतन्त्र जोगाउनका लागि तथानाम बोल्नु भन्दा, जनताका लागि अभेद्य कविता वाचनको रियाज गर्नु भन्दा यति सानो कुरा बुझे भै हाल्छ नि । सबैले, राजारंकले बुझेका कुरा किन बुझ्न नसकेका होलान् ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *