मंगलबारदेखि सिछुवान एयरको पोखरा– छङ्तु नियमित उडान

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छङ्तु (छेन्दु)बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ ।

सिछुवान (सिचुआन) प्रान्तीय जनसरकारकाे सहयोगमा सिछुवान एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो ।

यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ।

‘पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुहरूका लागि कम खर्चमा सहज पहुँचका साथै चिनियाँ पर्यटकहरूलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’यो नयाँ हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुर्याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।’

हवाइ उडानबाट दुई देशका शहरहरू जोडिँदा आपसी मित्रता र सहकार्य थप बलियो हुने जनाइएको छ ।

छङ्तुबाट पोखरामा आउने सिछुवान एयरलाइन्समार्फत मंगलबार हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का लागि जाने भएको छ। नेपाली प्रतिनिधिमण्डलको टोलीले प्रदेश राजधानी सहर छन्तु,  पर्यटकीय सहरहरू लुचाै, अमै शान र लशान तथा छाेङछिङ महानगरलगायतका चिनियाँ शहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ।

‘यी प्रयासहरुले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्नेछ,’ बोर्डको विज्ञप्तिमा उल्लेख छ।

नेपाल पर्यटन बोर्डले यस ऐतिहासिक पहललाई सफल बनाउन सहयोग गर्ने सिछुवान एयरलाइन्स, सिछुवान प्रान्तीय जनसरकार, पोखरा पर्यटन परिषद् र सबै सरोकारवालाप्रति आभार व्यक्त गरेको छ । विज्ञप्तिमा थप भनिएको छ, ‘यस नयाँ हवाई सम्पर्कले सांस्कृतिक आदान–प्रदानलाई अझ सघन बनाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न थप सहयोग हुने अपेक्षा गरिएका छ ।’

हाल छङ्तुबाट एअर चाइना र सिछुवान एअरलाइन्सले काठमाडाैँमा दैनिक एक एक उडान भर्दै आइरहेका छन् । चीनका विभिन्न सहर मात्र नभएर विश्वका विभिन्न हवाइ गन्तब्यसँग जाेड्ने छङ्तु प्रमुख ट्रान्जिट विन्दू हाे ।

छन्तुबाट उडान भर्दै आइरहेकाे विमानबाट यात्रुले विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे अवलाेकन समेत गर्न सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *