छुरा प्रहार गरी हत्या गरिएका आशुको शवसहित जनकपुरधाम–जलेश्वर सडकखण्डमा स्थानीयको प्रदर्शन

जनकपुरधाम । होली खेल्ने क्रममा छुरा प्रहार गरी हत्या गरिएका युवकको शवसहित आफन्त तथा स्थानीयवासीले जलेश्वर जनकपुर सडकखण्डमा प्रदर्शन गरेका छन् ।

जनकपुरको जलेश्वर सडकखण्ड अन्तर्गत जनकपुरधाम २३ बिन्धीमा १८ वर्षीय आशु यादवको शव राखेर उनका आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् ।

उनीहरूले युवकको शवसहित सडक अवरुद्ध समेत पारेका छन् । घटनामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै सडकमा शव राखेर प्रदर्शनमा उत्रिएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए ।

आशुको हत्या गरेको आरोप बिन्धीकै २१ वर्षीय धर्मेन्द्र महतोमाथि लागेको छ । छाती, ढाड र पेटमा छुरा प्रहारबाट गम्भीर घाइते आशुको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार साँझ करिब ६ बजे मृत्यु भएको थियो ।

प्रहरीले तत्कालै छुरासहित धर्मेन्द्रलाई पक्राउ गरेको थियो । आशुको शव आज प्रादेशिक अस्पतालमा पोस्टमार्टम भएको छ । पोस्टमार्टमपछि शव बुझेर लगेका आफन्तसहित स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *