काठमाडौं । २०८० मंसिर ९ गते झापाको बिर्तामोड पञ्चकन्यास्थित इकम कलेजको उद्घाटन तथा पृथ्वीनारायण शाहको सालिक अनावरणको कार्यक्रम थियो । कार्यक्रमको प्रमुख अतिथि पूर्वराजा ज्ञानेन्द्र शाह थिए । अनावरणअघि पूर्वराजाका समर्थकले झापामा मोटरसाइकल र्याली निकालेका थिए भने अनावरण कार्यक्रममा राजसंस्थाको पक्षमा ठूलै नाराबाजी भएको थियो । कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी थिए । पूर्वराजाले कलेज उद्घाटन गर्नुका साथै पृथ्वीनारायण शाहको सालिक अनावरण गरे । तर कार्यक्रममा पूर्वराजाले सम्बोधन भने गरेनन् ।
सोही दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापा गुल्मी जिल्ला पुगेका थिए । पार्टीको जिल्ला सम्मेलनमा सहभागी हुन पुगेका महामन्त्री थापाले भने पूर्वराजा ज्ञानेन्द्रप्रति आक्रोश पोखे । उनले भने, ‘राजाले पनि जुवाको खालमा गएर च्याँखे दाउ हान्ने होइन। च्याँखे दाउ नहान्नुस् महाराज । खेल्ने भए सिधै खालमा आए हुन्छ, कांग्रेस भिड्न तयार छ। बकाइदा भिड्न तयार छ।’ त्यस्तै थापाले मौकामा मूर्ति बेच्नेले हिन्दू धर्म नबचाउनेसमेत बताए। उनले भने, ‘मौका पाउँदा मन्दिरको मूर्ति बेच्नेले हाम्रो धर्म बचाउँदैन ।’
पूर्वराजाले अहिलेसम्म कुनै दल र नेता लक्षित कुनै अभिव्यक्ति दिएका छैनन् र त्यतिबेला पनि दिएका थिएनन् । महामन्त्री थापाले यस्तो अभिव्यक्ति दिएपछि उनको धेरै आलोचना भयो । विना प्रसंग पूर्वराजालाई लान्छना लगाएको भन्दै उनको आलोचना भयो ।
पूर्वराजाले प्रजातन्त्र दिवस, नयाँवर्ष, बडादसैंका अवसरमा सन्देश जारी गर्दै आएका छन् । विगतका भन्दा यसवर्ष प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाको भिडियो सन्देश अलि फरक थियो । सन्देशमा पूर्वराजाले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरे । भिडियो सन्देशमा पूर्वराजाले भनेका छन्, ‘देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ। राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ।’
पूर्वराजाको सन्देशपछि धेरै नेताले उनको आलोचना गर्नुका साथै नानाथरी गाली पनि गरे । तर गुल्मी पुगेर पूर्वराजालाई मूर्तिचोरको आरोप लगाएका गगन थापाले भने बोलेकै भरमा वा विज्ञप्ती जारी गरेकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न नहुने मत राखे ।
गत आइतबार पूर्वराजा पोखराबाट काठमाडौं फर्किँदा त्रिभुवन विमानस्थलबाहिर हजारौं नागरिक उनको स्वागतमा भेला भए । राजावादीको प्रदर्शनलाई देखेर यतिबेला प्रमुख राजनीतिक दल नै अत्तालिएको अवस्था छ । जुनकुरा माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिबाट पनि स्पष्ट हुन्छ । शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले पूर्वराजालाई मूर्तिचोरका साथै दरबार हत्याकाण्डको योजनाकारको आरोपसमेत लगाए । उनले भने, ‘भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरु त उनको परिवारभित्र थिए नि ! सबै बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनतालाई थाहा छ । धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ । २५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सिएका छैनन्, मुर्ति चोर को हुन् ? नेपालका ठूलठूला मूर्ति चोरहरू अहिले राजा बन्न खोज्दैछन् । भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिए भन्ने ठानेको ?’
प्रचण्डले यतिसम्म भने कि मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचारमा थिएँ । प्रचण्डले अहिले यसो भने उनी पटक पटक प्रधानमन्त्री भइसकेका छन् । तर आफू प्रधानमन्त्री हुँदा यसबारेमा मौन बस्ने प्रचण्ड सत्ताबाट सडकमा पुगेपछि किन यस्तो अभिव्यक्ति दिए भनेर उनको आलोचना भइरहेको छ ।
राजनीतिक विश्लेषक डम्बर खतिवडा सधैं सस्तो राजनीतिक आरोप लगाउनु भन्दा दरबार हत्याकाण्डबारे छानबिन गर्न सुझाव दिन्छन् । उनको सुझाव छ, ‘दरबार हत्याकाण्डको साँचो हत्यारा को थियो ? कोही भन्छन्–दीपेन्द्र शाह, कोही भन्छन्–दीपेन्द्रको मास्क लगाएर विदेशी षडयन्त्र । रानाभाट आयोगले भन्याथ्यो–भट्ट्ट पड्किने स्वचालित बन्दुक । कसैमाथि सधै सस्तो राजनीतिक आरोप लगाउनुभन्दा फेरि एकपटक छानबिन गरे भो त ? हत्यारा जेल हाले भो !’
वरिष्ठ पत्रकार कनकमणि दीक्षित भने यो प्रचण्डको सत्ताबाट सडकमा पुगेको आक्रोश भएको बताउँछन् । उनी भन्छन्, ‘पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रबारे सरासर गलत (‘भाइमारा’) तथा हल्ला (‘मुर्तिचोर’, ‘सुन तस्कर’)को भरमा लाञ्छना लगाए । एउटा पूर्व–सरकार प्रमुखले भन्न नसुहाउने कुरा, सरकार बाहिर रहन बाध्य हुँदाको ‘प्यानिक’ अवस्थामा द्वेषवमनमार्फत राजनीतिक डामाडोल फैलाउने मक्सद ।’