फ्र्याङफर्ट । जर्मनीको बर्लिन नजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा रहेका कामदारलाई तलब दिन इन्कार गर्नेलगायतका गलत कार्य गरेको जर्मनीको एक प्रमुख युनियनले आरोप लगाएको छ ।
अर्बपति एलन मस्कको नेतृत्वमा रहेको टेस्लाले कर्मचारीको मेडिकल प्रमाणपत्रमाथि प्रश्न उठाउँदै आएको र पछि ‘तलब रोक्का गरिएको’ आइजी मेटल युनियनले आरोप लगाएको हो ।
टेस्लाले कथित ‘ओभरपेमेन्ट’ को कारण ‘ऋण’ मा फसेको हवाला दिँदै कहिलेकाँही उनीहरूलाई जागिरबाट अवकाश दिनेगरी पारस्परिक सम्झौतामा हस्ताक्षर गर्न प्रोत्साहित गर्नेगरेको पाइएको छ युनियनले भनेको छ।
जर्मनीको टेस्लाका लागि यो आरोप निकै कठिन समयमा आएको छ, जहाँ कम्पनीले जनवरीदेखि कारको बजारमा कारोबारको हिस्सा गुमाइरहेको छ ।
जर्मनीमा हालै सम्पन्न संसदीय चुनावमा अति दक्षिणपन्थी एएफडी पार्टीलाई समर्थन गरेको भन्दै मस्कको आलोचना भइरहेको छ । जर्मनीको बर्लिनमा टेस्लाका चार वटा कारमा बिहीबार रातिदेखि शुक्रबारसम्म आगलागी भएको प्रहरीले जनाएको छ ।
आईजी मेटलका अनुसार ११ हजारभन्दा बढीलाई रोजगारी दिने कारखानामा काम गर्ने कामदारले विवादमा युनियनको सहयोग लिने औसतभन्दा २१ गुणा बढी सम्भावना छ ।
टेस्लाको व्यवस्थापनले ‘बिल्ड ट्याब्लोइड’लाई बताएअनुसार हरेक महिना करिब एक दर्जन यस्ता मुद्दाहरू हुने गरेका छन् । कम्पनीले बिल्डलाई भनेको छ, “यहाँ सामूहिक कार्यको कुरा गर्नु भनेको वास्तविकताको जानाजानी विकृति हो।”
टेस्लाले प्रतिक्रियाका लागि एएफपीले गरेको अनुरोधमा कुनै जवाफ दिएको छैन ।