वासिङ्टन । अमेरिकाले वासिङटनका लागि दक्षिण अफ्रिकाका राजदूत इब्राहीम रसुलले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै देश निकाला गर्ने घोषणा गरेको छ ।
‘अमेरिकाका लागि दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देशमा स्वागत छैन,’ राजदूतलाई देश निकाला गर्ने घोषणा गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियो लेखेका छन् । दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले आफ्नो देशका राजदूतलाई देश निकाला गर्ने अमेरिकी निर्णय ‘खेदजनक’ भएको प्रतिक्रया दिएको छ ।
‘इब्राहीम रसुल अमेरिकालाई घृणा गर्ने र घृणा गर्ने एक जातिगत राजनीतिज्ञ हुन्,’ ट्रम्पलाई उदृत गर्दै विदेशमन्त्री रूबियोले भनेका छन्, ‘उनले हामीसँग छलफल गर्ने केही पनि आधार छैन र उहाँलाई अमेरिकामा ‘अस्वीकार्य व्यक्ति’ का रूपमा घोषणा गरिएको छ । उहाँलाई अमेरिकामा ‘अस्वीकार्य व्यक्ति’ (पर्सना नन ग्राटा) मानिनेछ ।’
कुटनीतिमा कुटनैतिक शिष्टाचार अन्तर्गत विशेष सुविधा दिइएकोमा त्यस्तो सुविधाको दुरुपयोग गर्ने, कुटनीतिक मर्यादा उल्लंघन गर्ने व्यक्तिलाई ‘होष्ट कन्ट्री’ले अस्वीकार्य व्यक्ति घोषणा गर्न सक्दछ । वासिङटन र प्रिटोरियाबीचको बढ्दो तनावबीच पछिल्लो घटनाक्रमबीच अमेरिकाले राजदूतलाई देश निकालाको निर्णय गरेको हो ।
ट्रम्पले गत फेब्रुअरीमा दक्षिण अफ्रिकालाई दिइने अमेरिकी सहयोग रोक्का गरेका थिए । गत साता ट्रम्पले दक्षिण अफ्रिकाका किसानलाई अमेरिकामा बसोबास गर्न स्वागत गरिएको भन्दै सरकारले गोराहरूको भूमि ‘जफत’ गरिरहेको आरोप दोहोर्याएका थिए ।
‘सुरक्षाको कारणले दक्षिण अफ्रिकाबाट आएका कुनै पनि किसान परिवारलाई त्यस देशबाट पलायन हुनुपरेमा नागरिकताको द्रुत मार्गको व्यवस्था गर्दै उनीहरूलाई अमेरिकामा आमन्त्रित गरिनेछ,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् ।
ट्रम्पका निकट सहयोगी तथा दक्षिण अफ्रिकी मूलका अर्बपति इलन मस्कले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाको सरकारमाथि ‘खुलेआम रंगभेदी स्वामित्वसम्बन्धी कानुन’ रहेको आरोप लगाउँदै आएका छन् ।
दक्षिण अफ्रिकामा भूमिको स्वामित्व एक विवादास्पद मुद्दा हो । रंगभेदको अन्त्यको तीन दशकपछि पनि अधिकांश खेतीयोग्य जमिनहरू श्वेत समुदायको स्वामित्वमा छन् । पछिल्लो समय दक्षिण अफ्रिकी सरकारमाथि सुधारहरू कार्यान्वयनको दबाब बढ्दो छ ।
गत महिना दक्षिण अफ्रिकामा आयोजित जी-२० को एक कार्यक्रममा रामाफोसाले अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेलगत्तै ‘सकारात्मक’ कुराकानी भएको बताएका थिए । तर पछिल्लो समय भने उनको ट्रम्पसँग सम्बन्ध तनवापूर्ण बनेको छ ।