अब आफैंले वरदान दिएको भस्मासुर तपाईंहरूको टाउकोमा हात राख्न आएको छ, बधाई छ हामी सबैलाई !

-सुमना श्रेष्ठ ।

अस्ति एक जना माननीयले पूर्वराजालाई स्वागत गर्न आएको जुलुस जनताको आक्रोश सडकमा आएको हामीले सम्बोधन गर्न पर्छ भन्नु भो, हो उहाँको विश्लेषण एकदम ठिक हो । त्यो आक्रोश यो भन्दा अघि २०७९ सालको चुनावमा पनि पोखिएको थियो–मतपत्रमा, त्यसैकारण म यो सदनमा आएर बोलिरहेकी छु । त्यो आक्रोश नै त थियो, जसको कारणले नामै नसुनेका हामी जस्ता पात्रहरूलाई जनताले हाम्रो निराशा चिर्न केही गर भनेर हामीलाई यहाँ पठाउनु भयो ।

हामी यहाँ यही व्यवस्थाभित्रै बसेर जनप्रतिनिधिहरूसँग सहकार्य गर्दै देशको अवस्था बदल्छौँ भनेर आएका हौँ । हामीले आफ्नो तर्फबाट सक्दो प्रयास पनि गरिरहेका छौँ । विधयेक आउँदा अध्ययन गर्छौँ, सरोकारवालाहरूसँग छलफल गर्छौँ, संसदीय व्यवस्थाले काम गर्छ भनेर विश्वासमा संशोधन पनि हाल्छौँ तर क्यै वास्ता हुँदैन ढ्यापढ्याप गरेर जस्ताको त्यस्तै पास हुन्छ । हामीले केही काम गर्न खोज्यो स्टन्ट भनिन्छ, यिनीहरू केही हैन, क्यै थाहा छैन यिनीहरूलाई भनेर होच्याउन खोजिन्छ । सानो सानो कुरा उचालेर ट्रोल गरिन्छ, खिल्ली उडाइन्छ ।

विचार गर्नुस् त हाम्रो दलको ओज घटाउन आफ्नो पक्षका बौद्धिक वर्ग परिचालन गर्नु भएन कि, मिडियामा उक्साउनु भएन कि, साइबर सेना परिचालन गर्नु भएन कि, हुँदाहुँदा राज्यको पूरा शक्ति नै लगाउनु भो जनताले विश्वास गरेको एक वैधानिक शक्तिलाई निस्तेज पार्न । त्यत्रो सामाथ्र्यको सानो अंश मात्र हाम्रो कुरा सुन्न, मिलेर सहकार्य गर्न लगाउनु भएको भए आज सदनमा यो व्यवस्थाको बचाउमा शब्द र समय खर्च गर्न पर्थेन होला ।

यो सदनले निकास दिन सकेन, जनतामा निराशा व्याप्त छँदैछ । निराश युवाले कि देश छाड्छ कि सडकमा आउँछ स्वागत जुलुस बनेर । त्यो स्वागत जुलुसका एक अराजक पात्र यहाँका ठूला भनिएका दलहरूले नै हुर्काएको बढाएको हो । हामीसँग तर्क गर्न सकिन्थ्यो, तिमीहरूको यो विचारमा यो खोट छ भनेर भन्नुभएमा हामी समीक्षा पनि गथ्र्यौ होला, तर तपाईँहरूले त्यो आवश्यक ठान्नुभएन । अब आफैंले वरदान दिएको भस्मासुरले तपाईंहरूको टाउकोमा हात राख्न आएको छ, बधाई छ हामी सबैलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *