काठमाडौँ । नेपाली टोली विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी भइ आज स्वदेश फर्किएको छ।
भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु रङ्गशालामा मार्च ७ देखि १३ तारिखसम्म भएको प्रतियोगितामा प्रभा आङदेम्बेले नेपाललाई रजत दिलाएकी थिइन्।
प्रभाले टी–४७ क्याटगोरीको महिला लङजम्पमा तीन दशमलव ९६ मिटर जम्प गर्दै रजत जितेकी हुन्। उनले लङजम्पसहित दुई सय र चार सय मिटर दौडमा सहभागिता जनाएकी थिइन्।
नेपालबाट ६ खेलाडी सहभागी थिए। पुरुष चार सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले प्रतिस्पर्धा गरेका थिए। गोविन्दले ज्याभ्लिन थ्रोमा खेलेका थिए।
अफिसियलमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अञ्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला रानामगर त्यहाँ गएका थिए। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका सदस्य रामचन्द्र श्रेष्ठलगायतले अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरे।