प्रधानमन्त्री कपमा बागमतीको पहिलो जित

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले पहिलो जित निकालेको छ । शुक्रबार दिउँसो भएको खेलमा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हराएको हो ।

जितको लागि २ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४७ ओभरमा सबै विकेट गुमाउँदै २ सय ११ रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमको लागि टेक रावतले ४५, कप्तान नारायण जोशीले ३९, राहुल भण्डारीले २६, किरण ठगुन्नाले २१ तथा निश्चल क्षेत्री र शेर मल्लले समान १४/१४ रन बनाए ।

बागमतीको लागि रिजन ढकाल र सोनु देवकोटाले समान ४/४ विकेट लिँदा प्रतिष जिसीले एक विकेट लिए ।

यसअघि रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा ‘टस’ जितेर पहिला ब्याटिङ गरेको बाग्मतीले आशुतोष घिरैया र शुभ कङ्साकारको अर्धशतकको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६६ रन बनाएको थियो । घिरैयाले १०१ बल खेल्दै पाँच चौका हान्दै ५८ रन बनाए । यस्तै कङ्सकारले ६८ बलको सामना गर्र्दै पाँच चौका र चार छक्काको मद्दतमा ७७ रन बनाए ।

यसैगरी, ईशान पाण्डेले ३६, पृथु बास्कोटाले १५ तथा प्रतिस जिसीले १५ रनको योगदान दिए ।

बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामी, शेर मल्ल र सूर्य श्रेष्ठले दुई दुई तथा नारायण जोशी र राहुल भण्डारीले एक एक विकेट लिए ।

जितसँगै बागमतीले तीन खेलबाट २ अंक जोड्दा सुदूरपश्चिमले एक खेल बढी खेल्दै समान दुई अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *