त्रितराज र विनोदको अर्धसतकमा आर्मीको लगातार तेस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । शुक्रबार दिउँसो भएको खेलमा कर्णाली प्रदेशलाई १ सय २७ रनले हराउँदै आर्मीले प्रतियोगितामा चौथो जित निकालेको हो ।

जितको लागि २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा अलआउट हुँदै १ सय ३५ रनमा समेटिएको हो । कर्णालीको लागि प्रकाश जैशीले अर्धसतक बनाउँदा बिपिन रवालले २३, दिनेश अधिकारीले २२ र बिपिन शाहीले १२ रन बनाए ।

आर्मीको लागि शाहाब अलामले तीन विकेट लिँदा सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले समान दुई/दुई विकेट लिए ।

यसअघि एक्स्ट्रा टेक ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ६२ रन बनाएको थियो । आर्मीको लागि त्रित राज दासले ६९, कप्तान विनोद भण्डारीले ५६, भीम शार्की ४०, बासिर अहमदले ३६ र सोमपाल कार्मीले १३ रन बनाए ।

कर्णालीको लागि प्रकाश जैशीले चार विकेट लिँदा दिनेश अधिकारीले तीन र सुनिल धमलाले दुई विकेट लिए ।

जितसँगै आर्मी तीन खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको कर्णाली छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *