कालीकोटको खाँडाचक्रमा एक किशोरको हत्या, एक घाइते, पाँच जना पक्राउ

मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो ।

दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन् । झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो ।

सदरमुकाम मान्मबाट ३५ किलोमिटर टाढा चौकी गाउँमा बिहीबार बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले जानकारी दिए । ‘घटनामा संलग्नलाई पक्राउ गरेका छौँ,’उनले भने, ‘पक्राउ परेका पाँचैजना १८ वर्षमुनिका छन् ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *