‘माउण्टेन क्लाइमेट’ र ‘माउण्टेन इकोनोमी’ कसरी बनाउने भनेर विश्वको ध्यान तान्छौं

-केपी शर्मा ओली

कोशी प्रदेश म आफैँसमेत निर्वाचित भएको प्रदेश हो । त्यसकारण यहाँको भूूगोल र यहाँका हिमाल नदीनाला आदिका बारेमा मलाई जानकारी पनि छ । यहाँका जाति जनजातिहरुका बारेमा, यहाँका कला संस्कृतिहरुका बारेमा, जनताका आस्था र विश्वासहरुका बारेमा मलाई जानकारी छ । यो एउटा ऐतिहासिक सभ्यताको सुरुआत भएको, प्राकृतिक हिसाबले अत्यन्त महत्वपूर्ण यस्तो प्रदेश हो, जसमा हामी गौरव गर्न सक्छौँ । हाम्रो भूूगोल, प्रकृति र हाम्रा पुर्खाहरुप्रति हामी गर्व गर्न सक्छौँ । हाम्रो इतिहासप्रति हामी गर्व गर्न सक्छौँ । यसै प्रदेशमा सर्वोच्च शिखर सगरमाथा, विश्वकै तेस्रो हिमशृङ्खला कञ्चनजङ्घा, अर्को मकालु र चोयुु, त्यसैगरी ल्होत्से, ल्होत्सेसार, आठ हजार मिटरभन्दा बढी उचाइका हिमालहरु छन् । हामी कञ्चनजङ्घा भनेर एउटा हिमाल भन्छौँ तर त्यहाँ चार वटा हिमाल आठ हजार मिटरभन्दा माथिका छन् । पूर्व–पश्चिम–उत्तर र दक्षिण नाम गरेका ‘पिक’हरु छन् ।

कोशी प्रदेशको सबैतिर समेट्ने, सबैतिर जोड्ने मुख्य नदी कोशी नदी, काठमाडौँको फुुल्चोकी पहाडबाट आउँदै गर्दा रोशी हुँदै कोशीमा आइपुुग्छ । भक्तपुरबाट काभ्रेपलाञ्चोक जाने बाटोमा साँगा भञ्ज्याङको यतापट्टीको भागबाट पाउने यहीँ नै हो । त्यसैगरेर हामी इन्द्रावतीको कुरा गर्छौं, मेलम्चीको कुरा गर्छौं, याङ्ग्रीको कुरा गर्छौं, अरु नदीहरुको कुरा गर्छौं, ती  सबै खोला र नदीको पानी पनि यही कोशी नदीमा बग्छ ।

वास्तवमा यसको सभ्यताको इतिहास छ । हलेसी, पाथीभराजस्ता तीर्थस्थलहरु, अर्जुनधारा जस्ता तीर्थस्थलहरु जहाँ जनताको आस्था जोडिएको छ, ऐतिहासिकता जोडिएको छ । जहाँ किच्चकवधजस्ता कुराहरु रहेका छन् । यहीँ नजिकै रहेको बर्जुतालको द्वापरयुुगसँग सम्बन्ध रहेको छ । जलथल द्वापरयुुगसँग सम्बन्ध रहेको छ । अर्जुनधारा त्रेतायुुगसँग जोडिएको रहेको छ । हलेसीको सत्ययुुगसँग सम्बन्ध रहेको छ । अथवा सभ्यताको सुरुआतदेखि इतिहास बोकेको र पहिलो ज्ञानको ज्योति छरियो भने यहाँ छरियो । शिवले आफ्ना सप्त शिष्यलाई अगाडि राखेर, शिक्षा दिएर सप्तऋषि अथवा चेला बनाएका थिए । त्यसबेला विद्धान् र प्रोफेसरलाई ऋषि भनिन्थ्यो । आजकाल हामी प्रोफेसर भन्ने गछौँ । त्यसबेला ठूला प्रोफेसर भनेको महर्षि भन्ने हुन्थ्यो ।

यस क्षेत्रसँग सत्ययुग र त्रेतायुगको सभ्यता गाँसिएको  छ । मैले पहिले पनि भनेको थिएँ, विश्वको सबैभन्दा पुरानो ग्रन्थ, अलिखित ग्रन्थ जसलाई द्वापरयुगमा व्यासले लिपिमा परिणत गर्नुभएको थियो । त्यो ग्रन्थ वेद र वेदका मन्त्रको पनि महामन्त्र भनेर चिनिने गायत्री मन्त्र, त्यसको रचना विश्वामित्रले गर्नुभएको थियो, यही कोशी किनारमा । एउटा भ्रम के छ भने विश्वामित्रको अर्को नाम कौशिक थियो र कौशिक ऋषिका नामबाट खोलाको नाम रह्यो भन्ने छ । यहाँ आएपछि कोशीको नाम रह्यो होला, दूधकोशी, तामाकोशी, सुनकोशी, भोटेकोशी लगायतका सबै कोशी कहाँबाट विश्वामित्र अथवा कौशिकका नाममा आए । यहाँ धरानमा बस्ने एउटा विद्धानका नाममा जराजरासम्म कहाँबाट त्यसरी नाम रहन्छ ? त्यस्तो होइन, कोशीको किनारमा बसेर तपस्या गर्ने वमर्षि महाविद्धान् विश्वामित्र ती कोशीपुत्र जस्तै छन्, कोशीका धर्तीपुत्र जस्तै छन् र विद्धान् छन् भनेर कहाँका बासिन्दाको हुन्भन्दा कौशिक हुन् कोशीमा बस्ने भन्ने नामबाट उनको नाम कौशिक राखिएको हो । उनको लगाव कोशी नदीसँग थियो । यस्तो कुराहरुमा हामीहरु त्यति भ्रममा पर्नु हुन्न ।

मैले भन्दै आएको छु, ज्ञानको सुरुआत यहाँ भएको थियो । ध्यान, तन्त्र र योगको सुरुआत यहीँबाट भएको थियो । योग पनि शिवले आफ्ना शिष्य सप्तऋषिहरुलाई सूूर्य दक्षिणायन हुने, सबैभन्दा लामो दिनका दिन शिक्षा दिनुभएको थियो । त्यसकारण त्यस दिनलाई शिक्षा आरम्भ भएको दिन (२१ जुन) भनेर मानिन्छ । २१ जुनलाई सबैभन्दा लामो दिन मानिन्छ । योग आरम्भ भएको, ज्ञान आरम्भ भएको र विश्वमा शिक्षाको प्रारम्भ भएको दिन भनेर त्यस दिनलाई मानिन्छ । त्यो यसै प्रदेशमा पर्छ । भष्मासुरलाई शिवजीले वर दिनुभयो । जसका टाउकामा हात राख्छु, त्यो भष्म होस् भने, यो वर लाग्दैन होला, लाग्छ र भने । भष्मासुरले भने, मैले दिएको वर फरक नै पर्दैन भनेपछि शिवजीकै टाउकोमा हात राख्न ल्यायो लाग्छ कि लाग्दैन हेर्छु भनेर । किनभने सबैभन्दा शक्तिशाली मान्छे सिद्धाइसकेपछि अरु त उसले केही बाँकी राख्ने नै भएन । सबैभन्दा खतरा त उसका लागि शिव नै हुन् । त्यसकारण शिवको टाउकोमा हात राखेर शिवलाई नै भष्म बनाउन पायो, शिव नै भाग्नु पर्‍यो । यो कथा हलेसीसँग जोडिन्छ । हलेसीमा यताबाट लुक्ने, उताबाट छलिने, यताबाट पस्ने भन्ने कथा त्यहाँ गएर जोडिन्छ र त्यसपछि विष्णु पनि यतैतिरका थिए भन्ने कुरा विष्णुुले आएर छल गरेर भष्मासुरलाई मोहनी रुप धारण गरेर बध गरे भन्ने कथा जोडिन्छ । यी ऐतिहासिक तथ्यहरु, हामीलाई शास्त्रहरुले बताएका कुराहरु अथवा यो भूमि एउटा ऐतिहासिक भूमि हो, पुण्यभूमि हो । एउटा  गीतमा पनि छ, शिवले जहाँ सृष्टिको, पहिलो बिहान ल्याएथे, ज्ञानको  पहिलो ज्योति ल्याएथे भन्ने । त्यो गीत यिनै कुराहरुसँग आधारित भएर बनेको हो ।

मैले अघि नै भनें, प्राकृतिक हिसाबले यस कोशी नदीका सप्त शाखा र प्रशाखाहरु अनेक छन् । यो चिसो र उर्बरभूमि हो । जुन मैलेअघि कुरा गरें, आजको वातावरणको बारेमा जुन चासो छ । वातावरणलाई सन्तुलित राख्ने, पर्यावरणलाई ठीक राख्ने, ‘ग्लोबल वार्मिङ’ हुन नदिने सबै काम हिमालहरुले गर्छन् । त्यसकारण हाम्रा हिमालहरुको असाधारण महत्व छ । हाम्रा फाँटहरुको अन्न उब्जाउका लागि महत्व छ तर हिमालले पानी दिएन भने, हिमालका चट्टानहरुले पानी सोचेर राखिदिएन भने, विस्तारै विस्तारै ‘रिचार्ज सिस्टम’बाट पानी छोडिदिएन भने तातेर आएको ‘लु’ जस्तो हावालाई हिमालको नजिक पुग्दापुग्दै चिसो पारेर त्यसलाई  थान्को लगाएर फेरि चिसो हावामा परिणत गरेर फिर्ता गरेन भने यो धर्ती ‘ग्लोबल वार्मिङ’ मात्रै होइन कि, यो धर्ती तात्दैतात्दै धेरै तातोमा पुग्न सक्छ । त्यसकारण हाम्रा हिमालहरुको त्यति महत्व छ ।

आज हामी विश्वको ध्यान हिमालतिर त्यसकारण तानिरहेका छौँँ, हामी सगरमाथा संवाद तुरुन्तै गर्दैछौँँ । सगरमाथा संवादको हाम्रो विषय वातावरण, हिमाल विकाससँग सम्बन्धित छ । ‘माउण्टेन क्लाइमेट’, ‘माउण्टेन इकोनोमी’ कसरी बनाउने भनेर । अर्को कुरा सबैभन्दा अग्ला हिमालहरु यसै प्रदेशमा छन् । अग्ला शिखरहरु यसै प्रदेशमा छन् । विश्वको सबैभन्दा सघन ढङ्गले अग्ला हिमालहरु भएको यही नै प्रदेश हो । अरु हिमालहरु त यहाँ थुप्रै छन् । नुप्से हिमाल, अमादब्लम हिमालजस्ता सुन्दर अरु थप हिमालहरु यहाँ छन् ।

हाम्रा नदीहरु, जसले ‘रिचार्ज सिस्टम’को काम गरिराखेका छन्, मुहानहरु फुटिराखेका छन्, हिउँ पर्छ, बस्छ, पग्लिन्छ । हाम्रोमा झरी पर्छ । झरी किन पर्छभन्दा त्यो चट्टानमा विस्तारै पानी सोस्दै जान्छ र पछि विस्तारै थोपाथोपा गर्दै मुल फुटाएर फेरि ‘रिचार्ज सिस्टम’लाई छाड्ने गर्छ । त्यसकारण प्राकृतिक उर्बरता, हराभरा छ । प्रकृतिको सबैभन्दा ठूलो कुलिङ सेन्टर (चिस्यान केन्द्र), सबैभन्दा रिचार्ज सेन्टर, सबैभन्दा ठूलो ‘इकोसिस्टम’ पैदा गर्ने र व्यवस्थापन गर्ने प्रणालीको कुरामा जानुुपर्छ भने सबैभन्दा महत्वपूर्ण प्रदेश कोशी प्रदेश हो ।

मैले खाली प्रकृतिको, इतिहास र इतिहासका गौरवगाथाको मात्रै वर्णन गर्न खोजेको होइन । यी कुराहरुलाई आगामी दिनमा तिनको खोजी गर्ने र समाधान गर्ने कुरासँग जोड्न खोजेको हुँ । आगामी दिनमा हाम्रा विकासका सम्भावनाहरु खोज्न खोजेको हुँ । हामीले के प्रयासहरु गरिराखेका छौँँ र कस्ता प्रयास गर्नुपर्छ भन्ने कुरा जोड्ने खोजेको हुँ । यस प्रदेशसभाले बनाएको सरकारले के कस्ता नीति निर्माण गर्नुपर्छ र कसरी सुशासन र विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा मैले राख्न खोजेको हुँ ।

एउटा गलत भाष्य के निर्माण गर्न खोजिएको छ भने व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन, हामी जहीँको त्यहीँ छौँँ, कुनै विकास भएन भन्ने । मैले केही सार्वजनिक सभाहरुमा सम्बोधनको क्रममा भनेको थिएँ कि अनेक तथ्य र प्रमाणहरुले अवस्थामा पनि ठूलो परिवर्तन ल्याएको छ । हामीले कति वर्षदेखि नभएका काम र कति वर्ष लाग्ने खालका कामहरु केही वर्षभित्र गरेका छौँँ । असाधारण काम गरेका छौँँ । विकास निर्माणको सम्बन्धमा दूरगामी दृष्टिकोण प्रस्तुत गरेका छौँँ । नेपाली जनताको आकाङ्क्षा के होभन्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो । सिङ्गै नेपाल सुशासनयुक्त र समृद्ध बनाउनु पर्दछ र नेपाली जनतालाई सुखी जनता बनाउनु पर्दछ । त्यसमा सबैभन्दा नमिलेको कुरा २० प्रतिशतभन्दा बढी जनता अहिले निरपेक्ष गरिबीको रेखामुनि छन् । निरपेक्ष गरिबीको रेखामुनिको जनसङ्ख्या यस प्रदेशमा अलिकति कम छ । यहाँ साक्षरताको प्रतिशत माथि छ । यहाँ शिक्षाको स्तर माथि छ । त्यसकारण यहाँको शैक्षिकस्तरलाई अझ माथि उठाउन सकिन्छ, अझ गुणस्तरमा पुुर्‍याउन सकिन्छ । यहाँको गरिबी निवारणलाई अगाडि बढाउन सकिन्छ । तर, कतिपय कुराहरुमा ध्यान नपुगेको पनि देखिन्छ । जस्तो कृषिको क्षेत्रमा हामीले ‘सुपरजोन’, ‘जोन’, ‘ब्लग’ र ‘पकेट एरिया’ भनेर ठूलो मात्रामा उत्पादन गर्ने, ब्लगमा उत्पादन गर्ने र त्यसोगर्दा प्रविधिको प्रयोग गर्न, मेसिनको प्रयोग गर्न, सिँचाइको प्रयोग गर्न र अरु कुराका लागि सजिलो हुन्छ । साथै, बजार खोज्न र गुणस्तरीय वस्तु उत्पादन गर्न सजिलो हुन्छ । त्यसलाई जीविकाको मात्रै होइन, विकासको विषय बनाउन सकिन्छ । आज हामी जीविकाका लागि मात्रै सङ्घर्ष होइन, विकासका लागि, अगाडि बढ्ने कुरा र समृद्धिका लागि सङ्घर्ष गरिराखेका छौँँ । यसो गर्दा गरिबी उन्मूलन गर्नु नै छ, हटाउनु नै छ । तर, हाम्रो उद्देश्य गरिबी हटाउनेमा मात्रै सीमित छैन, समृद्धि हासिल गर्ने कुरामा पुगेको छ । हामी गरिबी हटाउँछौँं तर गरिबी हटाएर सन्तोष गर्दैनौँ । गरिबी हटाउनु भनेको खासगरी आधारभूत आवश्यकताहरुको परिपूर्ति हो तर समग्र जैविक र मानवीय न्यायोचित आवश्यकताको सहज आपूर्ति समृद्धितिर पुग्छ । तसर्थ, हामी सुशासन र समृद्धिको बाटोमा यतिबेला तीब्रताका साथ लाग्न खोजेका छौँ । त्यसैका लागि कृषि, उद्योग, व्यापार, पर्यटन, सेवा, शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा काम गरेका छौँं, रोजगारीका अवसरहरु सिर्जना गर्न कोसिस गरेका छौँं, रोजगारीका अवसर सिर्जना गर्ने मात्रै भनेका छैनौँ ।

म यस सभाको विशेषगरी ध्यान आकर्षित गर्न चाहन्छु, रोजगारीका अवसरहरु सिर्जना गरौँ तर रोजगारीका अवसर कहाँबाट आउँछ ? त्यसकारण रोजगारीका अवसरभन्दा बढी जोड दिनुपर्ने कुरा उद्यमशीलतामा हो । हरेक मान्छे जागिर खोज्न हिंड्यो भने कहाँ पाउने ? सरकारी जागिर सीमित छन्, कहिले एक दुईवटा अवकाश हुन्छ, त्यो खाली हुनेबित्तिकै लोकसेवाले जाँच लिंदैन, अलिक समय महिना वा कहिले वर्षौं पनि लगाउँछ । वर्षमा साढे तीन चार वा पाँच लाख श्रमशक्ति बजारमा आउँछन् । मान्छे ‘रिटायर्ड’ कहिले हुन्छ र हामी सरकारी जागिर पाउँछौँं ? त्यसो भएर सरकारी जागिर भनेको बहुत थोरैले प्राप्त गर्ने कुरा हो । सायद दुई, तीन प्रतिशतले मुस्किलले पाउँलान् । तर, हामीलाई त कमसेकम ६० प्रतिशत जनता आम्दानीयुक्त भएको हुनुपर्‍यो र सामाजिक सुरक्षामा आबद्ध भएको हुनुपर्‍यो, उसको जीवन भोलि असुरक्षित हुनुभएन । यिनै कुराका लागि अघिल्लो पटक म प्रधानमन्त्री हुँदा विकासका लागि पहिला पूर्वाधार चाहिन्छ भनेर पूर्वाधारको विकास अगाडि बढाएँ । पूर्वाधारबिना विकास गर्न सकिंदैन, बाटोबिना कसरी विकास गर्ने, विजुली, सञ्चारको ‘कनेक्टिभिटी’बिना कसरी विकास गर्ने ? तसर्थ, विकासका साधनहरु पहिला चाहियो । त्यसकारण मैले हुलाकी राजमार्गमा किन ध्यान दिएँ ? किन मध्यपहाडी राजमार्गमा ‘स्मार्टसिटी’ बनाउने कुरा, हुलाकी राजमार्गमा १२/१३ वटा ‘स्मार्टसिटी’ बनाउने ती योजनाहरु किन अगाडि सारेँ ? सातवटा प्रदेशमा आठवटा औद्योगिक क्षेत्रहरु स्थापना गर्ने र हजारौँ उद्योग स्थापना गर्ने र जसबाट रोजगारीका अवसरहरु सिर्जना गरिन्छ, निर्माण र उत्पादनका कामहरु गर्न सकिन्छ । त्यसले जनताको आर्थिक जीवनमा परिवर्तन ल्याउँछ ।

आज हामीले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व र स्थिरता दिनुु छ । संविधान, जसले लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई परिभाषित गरेर त्यसलाई स्थायित्व दिनका लागि मूल कानुुनको रुपमा काम गरेको छ । यो संविधान त्यसका लागि बनेको छ । संविधानको रक्षा गर्नु छ । आवश्यकताअनुसार जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा संविधान संशोधन गर्दै पनि जानुु छ । कानुुनी राजको स्थापना गर्नुपर्नेछ तर कानुनी राज बनाउनका लागि पहिला हामीले न्यायोचित कानुन निर्माण गर्नुपर्‍यो । अन्यायपूर्ण कानुन बनाउने अनि त्यसअनुसारको राज भन्ने हो भने त्यो त उहिले पनि थियो त । त्यो राणाशासनमा पनि त्यस्तै थियो, पञ्चायत कालमा पनि त्यस्तै थियो । तसर्थ, ती प्रणालीहरुलाई नेपाली जनताले हटायो, हामीले हटायौँ ।

अब हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँं । त्यसको रक्षा गर्नु छ अर्थात् हामीले प्राप्त उपलब्धिहरुको सुदृढ ढङ्गले रक्षा गर्नु छ । यिनमा कही कमीकमजोरी छ भने सुधार गर्दै अगाडि बढ्नुु छ र थप उपलब्धिका लागि अगाडि बढ्नु छ । लोकतन्त्रलाई साँचो अर्थमा प्रयोग गर्दै, लोकतन्त्रलाई जनताको जीवनसँग, जीवनस्तरसँग, आम्दानीसँग जोड्ने, उनीहरुको संस्कृति र विकाससँग जोड्ने र उनीहरुको सामाजिक मूल्य मान्यतासँग जोड्नु छ । देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने, हो । देश पछाडि फर्किन सक्दैन । देशलाई अगाडि बढाउनुपर्छ । त्यसैकारण हामीले मदन भण्डारी राजमार्ग बनायौँ । मध्यपहाडी पुष्पलाल राजमार्ग त्यसलाई पूरा गर्ने दिशामा गइराखेका छौँं ।

मैले अघि कृषि क्षेत्रको अलिकति कुरा गरेँ । कृषि क्षेत्रलाई हामीले आधुनिकीकरण गर्ने, व्यवसायिकीकरण गर्ने र यान्त्रीकीकरण गर्ने काम गरेका छौँं र कतिपय जिल्लामा बहुत राम्ररी कामहरु भइराखेका छन् । त्यहाँ ‘सुपरजोन’हरु बनिराखेका छन् । कहीँ जुनार र सुन्तलाखेती, कहीँ आलुखेती, कहीँ माछापालन, कहीँ केराखेती, कहीँ उखुखेती जस्ता विभिन्न प्रकारका खेतीहरु ठूलो स्केलमा भइराखेका छन् । तिनीहरुले मेसिनको सुविधा र अरु थुप्रै कुराको सुविधा पाइराखेका छन् । तालिमको सुविधा पाइराखेका छन् ।

यसै साता काठमाडौँमा श्रम मन्त्रालयको अग्रसरतामा र विभिन्न निजी क्षेत्रका विभिन्न उद्यमी व्यवसायी र तालिम दिने खालका संस्थाहरुसँगको सहकार्यमा दशवटा कम्पनीसँग व्यावसायिक तालिम कसरी दिने भनेर सम्झौता भएको छ । मान्छे हामीसँग छ तर तालिम दिने ठाउँ छैन, तालिम प्राप्त मान्छे छैन, काम गर्न सक्दैन । काम गर्ने रुचि छैन । यी कुराहरुलाई बदल्नुु छ । त्यो गोष्ठीमा हामीले सुन्यौँ, २० लाख श्रमिक निर्माण व्यवसायको क्षेत्रमा चाहिएको छ । तर उहाँहरु २० लाख श्रमिक पाइराख्नु भएको छैन, जम्मा छ/सात लाख श्रमिक पाउनुहुन्छ । काम छिटो किन हुँदैन भने श्रमिक पाउँदैन । त्यो पनि पारीबाट ल्याउनुपर्छ । छ/सात लाख पनि यहाँको श्रमिकले काम गरिराखेको छैन । मान्छे रोजगारी पाइन भनेर हिंडिराखेको छ, बाहिर गइराखेको छ । यहाँ व्यवसायीहरु भन्छन्, बीस लाख त निर्माण व्यवसायको क्षेत्रमा चाहियो भनेर । अरु क्षेत्र त्यस्तै भनिराखेका छन् कि हामीलाई यति श्रमशक्ति चाहियो भनेर । तनखा थोरै छ, त्यसकारण मान्छे बाहिर गइराखेको छ । काम गर्‍यो गर्‍यो खान, लगाउन, छोराछोरी  पढाउँन पुग्दैन, अनि काम मात्रै गरेर घाटामा गएर के हुन्छ भनेर उनीहरु बाहिर गएका छन् । यसरी एउटा देश छोेड्नुपर्ने खालको मनस्थितिमा पुग्नुपर्ने अवस्था छ । उनीहरु किन राम्रो तलब पाउँदैनन् भने उनीहरुमा दक्षता छैन, व्यावसायिक तालिम छैन, उनीहरुले राम्ररी काम गर्न सक्दैनन् । हामीले आधुनिक तरिकाले उत्पादनका लागि प्रयोग गर्नुपर्ने प्रविधिको प्रयोग उनीहरु गर्न सक्दैनन् । किनभने उनीहरुको प्रविधिसँग पहिचान छैन । डिजिटल नेपाल हामीले भनेका छौँं, त्यसअनुसार अगाडि बढ्नु छ । त्यसमा हामी प्रयास गरिराखेका छौँं तर अहिले पर्याप्त प्रयास भएको छैन ।

हामीसँग यति उर्बर फाँटहरु अहिले छन् । अलिकति खेतीयोग्य जमिनहरु जनसङ्ख्या वृद्धिसँगै मासिनु स्वभाविक हो । एउटा परिवारमा दुई–तीन भाइ हुन्छन् । उनीहरुलाई त्यही जमिनले पुुग्दैन, अनि उसका दुईभाइ छोराहरु कमसेकम बाहिर जान्छन् । त्यसकारण जग्गा टुक्रिन्छ । त्यो खालको स्थिति स्वभाविक हो । कृषिमा पहिलाको जस्तो एउटा परिवार नै उत्पादनको एकाइ हुने समय गयो । अब कलेक्टिभिजमतिर, सामूहिकतातिर, सहकारीतिर जानुपर्छ । केही गैरसहकारी तत्वहरुले सहकारीमा घुसपैठ गरेर सहकारीको बदनाम गरे । सहकारी वा सामूहिक खेती प्रणाली वा ठूलो परिणाममा लानका लागि, थोरैथोरै पुँजी, थोरै जमिन जे छ हामीसँग, त्यसलाई संगोलमा सञ्चालन गरेर लान सकिन्छ । अहिले हामीले हेर्‍यौँ भने चितवनमा त्यस्तै गर्दैछन् । उनीहरुले चार विगाहाको एउटा गरो बनाउँछन् । चार विगाहाको एउटा फाँटमा कति जनाको खेत त्यहाँ पर्छ, कसैको एक विगाहा होला, कसैको डेढ विगाहा होला । २० विगाहा जमिनका चार/पाँचवटा गरा हुन्छन्, कहिले कहिले दुुई/तीनवटा गरा हुन्छन् । त्यो उनीहरुको आली हुँदैन, नक्सामा मात्रै  उनीहरुको सीमाना हुन्छ । कति जमिन छ भन्ने थाहा छ, कति मल लाग्यो, कति सिँचाइ भयो, कति खर्च भयो र कति आम्दानी भयो भनेर जग्गाअनुसार छुट्याउन सकिन्छ । त्यहाँ किन आली लगाउनुु पर्‍यो ? कति जमिन हो भन्ने कुरा नक्सामा छ, श्रेस्तामा छ । त्यसो भएपछि त्यसमा भएको खर्च, लगानी, श्रमशक्ति आफ्नो आफ्नो ढङ्गले उनीहरुले छुट्याउन सक्छन् । तर मैले आज बिहानको राति मात्रै एउटा भिडियो हेरेको थिएँ, किसानले भन्छन्, हामीसँग धान रोप्ने मेसिन छ, हामी धान रोप्दैनौं । धान काट्ने मेसिन छ, गोड्ने मेसिन छ, पराल छुट्याउने मेसिन छ, पराल र धान छुट्याउने मेसिन छ, पराललाई अर्को काममा लगाउने मेसिन छ, हामीसँग सबैको मेसिन छ । उनीहरुले भने, ‘प्रधानमन्त्रीज्यू अब मर्मतसम्भार गर्ने पनि अफिस राखिदिनुु पर्‍यो भनेर ।’ हामीले मेसिन दियौँ, सबै दियौँ तर मर्मसम्भार गर्ने त्यहाँनिर चाहिएछ । अर्थात्, उहाँहरुको गरिबी हट्यो तर उहाँहरु पर्याप्त समृद्ध भइसक्नु भएको छैन । त्यसकारण मर्मतसम्भार गर्ने चिज मागिरहनु भएको छ ।

हामीले पछाडि परेको नेपाललाई अगाडि बढाउनु पर्नेछ । सन् २०३० सम्ममा दिगो विकास लक्ष्य संयुक्त राष्ट्रसङ्घले तोकेको छ । त्यो दिगो विकास लक्ष्य पूरा हुने सम्भावना त देखिंदैन तर गतवर्ष हामीले मूल्याङ्कन गर्दा सरदर १७ देखि १८ प्रतिशत मात्रै दुनियाँमा काम भएको रहेछ । दिगो विकासको लक्ष्य सन् २०१५ बाट सुरु भयो । सन् २०२४ मा मूल्याङ्कन गर्दा १७  देखि १८ प्रतिशत मात्रै काम भएको रहेछ । तर हामीले सन् २०१५ देखि २०२५ सम्म पुग्दा ४८ प्रतिशत काम गरेका रहेछौँं । यो खुशीको कुरा हो । दिगो विकास लक्ष्य भेट्नका लागि हामीले ४८ प्रतिशत काम अगाडि बढाएका रहेछौँं वा काम पूरा गरेका रहेछौँं । अरुले भन्दा बढी तीव्रताका साथ नै गरेका रहेछौँ । कोभिडभन्दा अगाडि आइपुग्दा विश्व बैंकले नेपालको मूल्याङ्कन गरेको थियो कि नेपाल आर्थिक क्षेत्रमा दक्षिण एसियाको एउटा उदाउँदो तारा हो भनेर । राइजिङ स्टार अफ साउथ एसिया भनेको थियो । त्यसपछि कोभिड आयो, अरु कुराहरु भए, हामी केही पछाडि पर्‍यौँ । एक वर्ष हामीलाई कोभिडले थला पार्‍यो, त्यसपछि हामी फेरि तंग्रिन थाल्यौँ, उठ्न थाल्यौँ । अब कोभिडलाई अपजस लगाएर हुँदैन, कोभिडलाई छिचोलेर मान्छे अगाडि बढिसके र आइसके । अब हामी समालिनु पर्दछ । हामी जता जानुपर्ने हो, त्यो बाटो नै समाउनुपर्छ । हाम्रो आजको आवश्यकता त्यो हो ।

यतिबेला हामीलाई शान्ति र राष्ट्रिय एकता चाहिएको छ । हाम्रो विविधतायुक्त देश छ । भौगोलिक विविधता, जैविक विविधता, वनस्पतीय विविधता, सामाजिक विविधता, भाषिक विविधता, सांस्कृति विविधता र अनेक विविधता छन् । पूर्वदेखि पश्चिमसम्म सबै हाम्रो देश हो । त्यसकारण विविधतायुक्त हाम्रो देश छ भन्ने कुरा हामीले बुझ्नुपर्छ । हामी विविधतामा एकता, विविधता हाम्रो सम्पन्नता हो, विविधता हाम्रो सम्पदा हो । यति सानो देशमा, यति सानो जनसङ्ख्यामा यति ठूलो विविधता अत्यन्तै बिरलै हुने कुरा हो । यो सजिलो कुरा होइन तर हामी कहाँ छ ।

हिजो इतिहासमा सामाजिक असमानता, आर्थिकलगायत विभिन्न प्रकारका सांस्कृतिक विभेदहरु थिए । राजनीतिक प्रणालीले त्यस विभेदलाई जन्म दियो, रक्षा गर्‍यो, सुरक्षा दियो र हुर्कायो । आज हामी ती प्रणालीअन्तर्गत छैनौँ । जसले त्यस्ता विभेदहरु जन्माउने र हुर्काउने काम गरे, तिनको पक्षमा हामी छैनौँ । आज हामी सबैका निम्ति प्रणाली, विकास, सुरक्षा, सुशासन, अधिकार सुनिश्चित गर्ने प्रणालीमा छौँं, हामी लोकतन्त्रमा छौँं । लोकको तन्त्र वा जनताको तन्त्रमा छौँं । तसर्थ, आज हामीले यी कुराहरुमार्फत् सामाजिक न्याय र समानता कायम गर्दै, तिनलाई बढावा दिंदै, तिनलाई स्थापना गर्दै, तिनलाई सुदृढ गर्दै सामाजिक सद्भाव कायम गर्ने बाटोमा र सामाजिक सद्भावमार्फत् राष्ट्रिय एकता कायम गर्ने बाटोमा र सिंगै राष्ट्र एकजुट भएर देशको विकास गर्ने, सुशासन र विकासको बाटोमा अगाडि बढ्नुपरेको छ । आजको हाम्रो अभिभारा र आवश्यकता यही हो ।

आज हामीलाई देश विकासका निम्ति शान्ति चाहिएको छ । हामी आज पछाडि फर्किन सक्दैनौँ । आजको हाम्रो प्रणाली प्रतिस्पर्धात्मक प्रणाली हो । जो कोही पनि आफ्नो क्षमताले अगाडि बढ्न सक्छ, पाउँछ र पाउनुपर्दछ । अहिले व्यवस्था र संविधानविरुद्धमा पनि केही आवाजहरु उठ्न खोजेको देखिन्छ तर अस्पष्ट,  चाहियो के त ? योभन्दा राम्रो प्रणाली कुनै छ भने ठीक छ । राम्रो प्रणालीमा छलफल गरौँ न त, योभन्दा राम्रो प्रणाली के हो ? जसो पायो त्यसै एकाध मान्छेहरुका स्वार्थ पछाडि मुलुक लाग्न सक्दैन । त्यो सुधारका लागि त सधैँ संविधान तयार छ, सरकार तयार छ र सार्वभौमसत्ता सम्पन्न जनता तयार छन् । तर त्यसको बाटो हामीले तय गरेका छौँ, शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक प्रणाली र प्रक्रियागत बाटो तय गरेका छौँ । त्यस बाटोबाट हामी अगाडि बढ्छौँ । सुशासन, कानुनसम्मत, न्यायसम्मत, समाजसम्मत, सामाजिक मूल्यमान्यतालाई दखल नपारी हाम्रा सभ्यता र संस्कृतिहरुलाई दखल नपारी अगाडि बढ्ने बाटोमा हामी छौँ ।

हामी राजनीतिक हिसाबले स्पष्ट छौँ । सार्वभौमसत्ता जनतामा रहेको, जनताको वा नागरिक सर्वोच्चता भएको प्रणाली छ । हामी अब समाजवादतर्फ उन्मुख छौँ । हामी सामन्तवादतर्फ, पुँजीवादतर्फ वा अर्को कुनै वादतर्फ उन्मुख छैनौँ । सर्वसम्मत जस्तै गरेर बनेको, संविधानसभाबाट बनाइएको संविधानमा हामीले व्यवस्था गरेका छौँ कि जनता सार्वभौमसत्ता सम्पन्न छ, जनताबाट शक्ति निश्रित हुन्छ, अरु कसैबाट होइन । संविधानसभाले संविधान बनायो, संसदले त्यसलाई त्यही दुई तिहाईको विधिबाट संशोधन गर्न सक्छ । हामी उपलब्धिहरुको रक्षा गर्ने, लोकतन्त्रको रक्षा गर्ने, लोकतन्त्रलाई व्यवस्थित गर्ने संविधानको रक्षा गर्ने बाटोबाट राजनीतिक रुपमा अगाडि बढ्दैछौँ । यसमा कुनै कही कतै अर्गेल्याइँ कसैप्रति गर्नुपर्ने आवश्यकता नै छैन ।

हामी विकास, सुशासन, भ्रष्टाचार नियन्त्रणको बाटोमा सङ्कल्पका साथ आज अगाडि बढ्नुपरेको छ । त्यस बाटोमा सरकार अगाडि बढेको छ र बढ्छ । भ्रष्टाचार नियन्त्रण गर्न, भ्रष्टाचारको छानबिन गर्न, भ्रष्टाचार हुन नदिन, भएको थाहा पाइएमा त्यसमा कारबाही अगाडि बढाउन सरकार सदैव प्रतिबद्ध छ ।

विकासलाई स्पष्ट योजना र दृष्टिकोण साथ योजनाबद्ध ढङ्गले कार्यक्रम बनाएर हरेक क्षेत्रमा कृषि, उद्योग, व्यापार, पर्यटन अथवा सामाजिक विकासको सन्दर्भमा हामीले थुप्रै काम गरेका छौँ । बीमाका काम, सामाजिक सुरक्षाका काम वा अरु यस्ता थुप्रै काम गरेका छौँ । यी कामहरुलाई सुदृढ ढङ्गले अगाडि बढाउँदै लान्छौँ । स्वास्थ्य बीमाको सन्दर्भमा केही बेठीक कामहरु हुन गएका छन् । त्यस्ता कुराहरुलाई रोकेर, त्यसलाई ठीक बाटोमा अगाडि बढाउने प्रयासमा पनि हामी लाग्नेछौँ ।

हामीले केही गरेका छैनौँ होइन, केही गरेका छौँ । गोठगाउँ हिजो गोठ थियो, गोठ भएको ठाउँ थियो । त्यहाँ आज पूर्वाञ्चल विश्वविद्यालय बनेको छ, यो असाधारण कुरा हो । आठ हजार एक सय पचास जना विद्यार्थीहरु दीक्षित भएका छन् । यसअघि बीसौं हजार दीक्षित भइसके । विद्यार्थीको ठूलो सङ्ख्याले त्यहाँ अध्ययन गरिराखेका छन् । त्यसो भएर हामीले केही गरेका छैनौँ भन्ने होइन । यातायातको क्षेत्रमा भन्ने हो भने पूर्व–पश्चिम मूल ‘लाइफलाइन’ राजमार्गहरु बनाउने कुरा अथवा ‘रिभर करिडोर’ बनाउने कुरा अगाडि बढाएका छौँ । आज ओलाङ्चुङगोलाभन्दा माथि तिप्ताङ पासबाट पनि मोटर छिचोलेको छ । आज ओलाङ्चुङगोलासम्म पक्की बाटो निर्माण गर्दैछौँ । कोशी करिडोर किमाथान्काबाट बाटो वारपार गरिसक्यो, अब पक्की हुन मात्रै बाँकी छ । गाडी किमाथान्का पुगिसक्यो, त्यहाँका जनताले खुशीयाली मनाए र सबै मौसम काम लाग्ने किमाथान्का बाटो हामीले बनाइसकेका छौँ । तमोर, अरुण, सुनकोशीलगायत अरु नदी ‘करिडोर’हरु बनाएका छौँ । जहाँ दुर्गम थियो, त्यो ठाउँ अब दुर्गम रहेन । सबैभन्दा दुर्गम ठानिने सोलुखुम्बु जिल्लाको सल्लेरीमा अहिले कालोपत्रे पुगिसकेको छ । लुक्लाभन्दा ठ्याक्क मुनिको बाटोको मैले अस्ति ट्रयाक खोलेर आएँ । अब अलिकति माथि बढाउने हो भने ट्रयाक लुक्ला पुग्छ । यो खालको सजिलो स्थिति हामीले प्रदेशभरी निर्माण गरेका छौँ ।

हाम्रा केही उत्पादनहरु चर्चित छन् । हाम्रो चिया, अलैंचीको उत्पादन कसरी बढाउन सकिन्छ भनेर हाम्रा विश्वविद्यालयहरुले अनुसन्धान गरुन् । अहिले ५८ लिटरसम्म दूध एउटा गाईले एक दिनमा दिएको रेकर्ड हामीले हाम्रै प्रदेशमा कायम गरिसकेका छौँ । यो सानो कुरा होइन । सरदर ३० लिटर दूध गाईले दिने त्यो खालको तहमा हाम्रा गाईफर्महरु पुगिसकेका छन् । देशभरिमा अहिलेसम्म सबैभन्दा बढी उत्पादन दिने गाईफर्म यही प्रदेशको भएको छ । हाम्रो सुपारी, मरिच, अदुवा, बेसारको उत्पादनदेखि स्कुस, अम्रिसोलगायत सारा कुरालाई व्यवस्थित गरेर अगाडि बढाउनुुपर्छ । इलाम अरुभन्दा अगाडि किन छ ? गरिबी निवारणमा अरुभन्दा अगाडि किन छ भने उसले जमिनको सदुुपयोग गरेको छ । केही भएन भने अम्रिसो लगाउँछ र बेच्छ । इलामको रोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग मैले भेटेको थिएँ, उहाँहरुले साग, पालुङ  लगाउनुहुन्छ, गुन्द्रुक बनाउनुहुन्छ । त्यसका लागि धेरै ठूलो उद्योग चाहिएन, गुन्द्रुक बनाएर गुन्द्रुकलाई ‘ब्राण्डिङ’ गरेर राम्रो आर्जन गरिरहनुभएको छ । साग बेच्नभन्दा तीन गुणा बढी गुन्द्रुक बेचेर नाफा कमाइरहनुभएको छ । घरघरमा मौरी पाल्नुभएको छ । गाउँपालिका अध्यक्षलाई आफ्ना यति घर छन्, हरेक दिन मह यति जम्मा हुन्छ भन्ने थाहा छ । सुकेको गुन्द्रुक यति हुन्छ, यसरी प्याकिङ गर्नुपर्छ भन्ने त्यो कुरा थाह छ । हामीले केही मौलिक कुराहरु गरौँ, नयाँ कुराहरु गरौँ । त्यसो भएर अलिकति उद्यमशीलतामा जोड दिऔँ ।

हामी केही कुराहरुको निर्णय अलिकति राम्ररी गर्दै छौँ । अझ राम्ररी ठहर गरेर निर्णय गर्नुपर्ने अवस्था के छ भने, उखु उत्पादनमा हामीले समर्थन मूल्य तोक्छौँ, त्यसपछि फेरि अनुदान दिन्छौँ । न हामी चिनीमा आत्मनिर्भर हुन्छौँ, न केही हुन्छौँ तर अनुदान दिइराखेका छौँं । पैसा गइराखेको छ । न चिनीले हामीलाई पुगेको छ, सरकारले उत्पादनका लागि पैसा तिरिराखेको छ । त्यो किन तिर्ने ? त्यसो भए आलु उत्पादनलाई किन नदिने, धान उत्पादनलाई किन नदिने, अर्को उत्पादनलाई किन नदिने ? या त अझै हामी उखु उत्पादनमा लाग्छौँ र चिनी मिलहरु स्थापना गछौँ र चिनीमा आत्मनिर्भर हुन्छौँ । त्यसो भएपछि कमसेकम एउटा चिज त आत्मनिर्भर भयो । त्यो पनि नहुने तर अनुदान दिने जस्ता कुराहरु छन् ।

जुट मिलहरुले पारीबाट जुट ल्याउनुपरेको छ । यहाँ त्यसलाई थिचथाच गर्‍यो, धागो बनायो र त्यसबाट फेरि बोरा र झोला बनाएर उतै पठायो । खानेकुरा त्यसमा राख्न पाइँदैन भन्छ । उता बनाएको जुटमा खानेकुरा राख्न हुने, यहाँ बनाएर उता पठाएपछि खानेकुरा राख्न नहुनेजस्ता कुराहरु छन् । यस्तोमा हामी कुराकानी गर्दैछौँ । ‘डम्पिङ साइट’ आदिका विषयमा हामी कुराकानी गर्दैछौँ । हामी चियाको सम्बन्धमा कुराकानी गर्दैछौँ । चियाको गुणस्तरको परीक्षण कसरी गर्ने, त्यसका लागि मेसिन स्थापना गर्ने, त्यसले ‘लेवलिङ’ र प्रमाणित गरिदिने जस्ता कुराको सहजीकरण गर्नेमा हामीले ध्यान राखिराखेका छौँ । अहिले अलैंची र अदुवा आदिको राम्रो उत्पादन यी क्षेत्रहरुमा हुने गरेको छ । यी कुराहरुलाई पनि बढाऔँ । हाम्रो ठाउँ धानवालीका लागि पनि प्रसिद्ध छ । तर, यसलाई आधुनिक ढङ्गले गरौँ । सय जना रोपार लगाउने ठाउँमा दुुई जना मेसिनमा बसेर रोपाइँ सकिन्छ । सय जनाले रोपेकोभन्दा एउटा मेसिनले बढी रोप्छ । अहिले बिउ उखेल्नै पर्दैन, ठ्याक्क उठाउने, ल्याउने र राख्ने गर्छ । त्यसपछि मेसिनले आफैँले खुरुखुरु रोप्छ । यति सजिलो तरिका गर्दा किसानलाई लागत कम हुन्छ, प्रतिफल बढी हुन्छ र उत्पादन बढी हुन्छ । खेतमा जोताइ र सिँचाइ राम्रो हुन्छ । खेतमा मल राम्ररी मिलाएर पुुग्छ । यसो भएर हामीले यस दिशातर्फ जाने खालका उपायहरु र तरिकाहरु अवलम्बन गर्नुपर्दछ ।

किसानले यति बेला कमसेकम चैते धान कसरी लगाइराखेका छन् । चितवनमा यस प्रदेशसभाबाट दुुई–तीन दिनको भ्रमण यात्रा आयोजना गरौँ । त्यो हेरेर आइयो, सिद्धियो होइन । त्यो कुरा यहाँ फेरि लागुु गर्नुपर्‍यो । हामीले एउटा ‘डिपबोरिङ्ग’ गर्‍यौँ भने ६० विगाहा जमिनमा पुर्‍याउन सक्छ । प्रदेश सरकारले त्यो चिज गर्न सक्छ र सकेन भने कतिपय ठाउँका लागि डिपबोरिङ केन्द्र सरकारले पनि गर्दिनसक्ला । जहाँनिर पालिकाले सक्छ, पालिकाले सकेन भने प्रदेशले सक्ला, प्रदेशले सकेन भने सङ्घीय सरकारले सक्छ । सङ्घीय सरकार तपाईंहरुको साथमा छ । त्यसकारण तपाईंहरु आँटका साथ काम अगाडि बढाउनुस्, मेरो आग्रह छ । केरा खेती कसरी गरिराखेको छ, त्यो तपाईंहरुले हेर्नुस्, बीमा कसरी गर्छ र कसरी आफ्नो आम्दानीलाई सुरक्षित गर्छ र कसरी खतराबाट मुक्त गर्छ, त्यो कुरा त्यहाँ हेर्नुस् । पोल्ट्री फर्म कसरी गर्छ त्यो हेर्नुस् । थुप्रै कुराहरु त हाम्रै ठाउँमा हामीले हेर्न सक्छौँ । विभिन्न प्रकारका फोहोर र घाँसपातबाट कसरी कम्पोस्ट मल उत्पादन गर्न सकिन्छ, ग्यास उत्पादन गर्न सकिन्छ र घरघरमा ग्यास वितरण गर्न सकिन्छ, ती चिजहरु हामी गर्न सक्छौँ ।

म साथीहरुलाई आग्रह गर्न चाहन्छु, अलिकति नयाँ ठाउँहरुमा कहाँ कहाँ के के गर्दै छन् हेरौँ । सिन्धुली र रामेछापमा जुनार र सुन्तला खेती हेर्न जाऔँ । सुन्तला र जुनारले डाँडै रातै र पँहेलै भएको देखिन्छ । त्यहाँ सुनजस्तै देखिएको हुन्छ । त्यही चिज हामी यो प्रदेशमा किन नल्याउने, किन नसक्ने ? त्यसका निम्ति विभिन्न ‘जोन’हरु बनाएर हामी सहयोग गर्न सक्छौँ । जस्तो मनाङमा स्याउ खेती गरियो, त्योसँगै स्लाइस बनाउने, सुख्खा चानाहरु बनाउने, ‘वाइन’ बनाउन सकिन्छ । राम्रो अङ्गुर फल्यो भने बजारमा जान्छ, अलिक सस्तो मूल्य पाउँछ । अलिक कच्याककुचुक पर्‍यो भने त्यसबाट ‘वाइन’ बन्छ र चार गुणाबढी मूल्य दिन्छ । तर, अब किसानले कमसेकम सग्लो र राम्रो खालको स्याउलाई खानका लागि नै पठाउँछ । अलिक सस्तो परे पनि केही छैन, मान्छेले खाउन् भनेर । हामीले मुस्ताङमा स्याउखेती प्रवद्र्धन गरिराखेका छौँ । कहीँ जैतुनको खेतीमा सहयोग गरेका छौँ ।

मैले आज बिहान मात्रै भिडियो हेरेको थिएँ कि किसानले भन्छन्, केरा खेतीबाट मैले वर्षमा ३० लाख रुपैयाँ नाफा कमाउँछु । कमसेकम उहाँले ३० लाख रुपैयाँ त कमाउनु हुँदोरहेछ । खाएर, लगाएर र सबै खर्च कटाएर रु ३० लाख त बचत हुँदो रहे । भनेपछि महिनामा अढाइ लाख रुपैयाँ उहाँको बचत हुन्छ । त्यही चिज हामी यता किन गर्न सक्दैनौं ? त्यसो भएर नयाँ चिजहरु, ‘इनोभेटिभ’ चिजहरु गर्नका लागि केही ठाउँहरुमा जाऔं, हेरौँ । नवलपरासीको सब्जी खेतीको अध्ययन गरौँ । कसरी मान्छेले सब्जी लगाएर धनी हुँदोरहेछ । यस्ता कुराहरु सिकौँ र हामी गाउँघरमा गएर यस्ता कुराहरु भनौँ । हामी सामूूहिक ढङ्गले केही कदमहरु चालौँ । जमिन मिसाएर केही हुँदैन, हामी जमिन मिसाएर काम गरौँ । मिलेर ससाना उद्योगहरु स्थापना गरौँ ।

कोभिडमा दमकमा एउटा बाबुले मास्क बनाउन सुरु गरे । बाँच्ने आधार त केही चाहियो, केही त गर्नुपर्‍यो भनेपछि मास्क सिलाएर बेच्ने गरे । त्यसपछि उनी अहिले मास्क, झोला, दुना टपरी, कागजका, प्लास्टिकका बनाउँछन् र उनको अहिले उद्योग राम्रो चलेको छ । अथवा अप्ठ्याराका बेला एउटा मास्क बनाउनेदेखि थालेको र कतिपय ठाउँमा त गरिबले मास्क किन्न पनि सक्दैनन्, निःशुल्क पनि दिनुुपर्‍यो । तर, त्यसका बावजुत उनी एउटा राम्रो साना मझौला उद्योगको विकास गरेका छन् । उनले ३५/४० जनालाई उद्योगमा रोजगारी दिएका छन् । त्यसकारण देश बनाउने अभियानमा हामी छौैँ । जनताले हामीलाई छानेको र जनप्रतिनिधि बनाएर पठाएको भनेको केही गर्नका लागि हो, परिवर्तन ल्याउनका लागि हो, उहाँहरुका समस्या सुनिदिनका लागि हो र ती समस्या समाधान दिनका लागि हो । हामीलाई यत्तिकै पठाएको होइन । हामीलाई पठाएको केही नयाँ गर्नका लागि हो । यथार्थ समाजमा परिवर्तन ल्याउन, जनताको जीवनमा परिवर्तन ल्याउन, देशमा परिवर्तन ल्याउन र हामी विकाशशील राष्ट्रमा परिणत हुँदैछौँ । त्यसका लागि हामीले बढी ऋण पाउँदैनौँ । अमेरिकी राष्ट्रपति ट्रम्पले भनिसक्नुुभयो, अब युएसआइडीबाट ऋण नदिने भनेर । यस्ता कुराहरु हुन्छन् । अरुको सहायतामा बाँच्छु भन्ने कुरा होइन, आफ्नो बलमा, आफ्नो तरिकाले मज्जाले बाँच्न सकिन्छ । हामीले त्यो तरिका सिकाऔँ, त्यो तरिका खोजौँ, तरिका विकास गरौँ ।

म जनप्रतिनिधि साथीहरुलाई भन्न चाहन्छु, हाम्रा सरकारका विकासे अड्डाहरु छन् । ती विकासे अड्डाहरुसँग कुरा गरौँ । वन क्षेत्र भनेको छ, वन क्षेत्र खाली छ, वनसँग सहमति गरेर हामीले फलफूल खेतीका लागि लिन सक्छौँ । वन वनको हुन्छ, रुख वनको हुन्छ, फलफूल किसानका । त्यहाँ समुदायले अरु कामसँगै फलपूmल खेती पनि गर्छ । बार लगाउँछ, बचाउँछ, जोगाउँछ र राम्रो गर्छ । के बिग्रियो त्यसबाट ? त्यसबाट किसानहरुको आम्दानी हुन्छ, समुदायको आम्दानी हुन्छ, अरु समुदायले पनि त्यस्तो गर्न पाउँछन् । जङ्गल भएका ठाउँमा हामीले थुप्रै चिज गर्न सक्छौँ । खाली ठाउँहरुमा काजुका, मरिचका रुखहरु रोपिदिन सक्छौँ । ल्वाङ रुखमा फल्छ, मरिच लहरामा फल्छ । यो ल्वाङ र काजुको रुखहरु लगाउन सकिन्छ । यस्ता चिजहरु हामीले जङ्गलभित्र लगाउन सक्छौँ । किसानलाई त्यो लगाउन, त्यसको रेखदेख गर्न र त्यसबाट भएको आम्दानी समुदाय बनाएर दिन सकिन्छ । यस्ता चिजहरु सरकारी अड्डा र जनप्रतिनिधिहरुले मिलेर अगाडि बढाउनुपर्छ । ससाना उद्योगहरु स्थापना गर्न जनतालाई सहयोग गरौँ, तरिका दिऔँ । किसान र सरकारी कार्यालयहरुका बीचमा जनप्रतिनिधिहरुले पुलको काम पनि गर्दिऔँ । बैंकहरु र उनीहरुले गर्न खोजिरहेका आयोजनाहरुका बीचमा पुलको काम गर्दिऔँ । यसो गरेपछि हामीले थुप्रै विकासका कामलाई हरेक ठाउँबाट हरेकले अगाडि बढाउन सक्छौँ ।

यसर्थ, यति बेलाको आवश्यकता हामी भावनामा बगेर होइन, यथार्थमा हामीले हाम्रा काम, कर्तव्य र अभिभाराहरु के हुन्, के गर्नु पर्नेछ, कसरी अगाडि बढाउनुपर्नेछ, त्यस कुरामा लागेर त्यस काममा लागेर अगाडि बढ्नुछ । दुनियाँ अगाडि बढिसक्छ, हामी भावानात्मक कुराहरु गरेर पछाडि परिराखेका हुन्छौँ । हामी पछाडिको पछाडि छौँ, हाम्रा कुरा माथि पर्छन् तर हाम्रो देश तल पर्छ । त्यसकारण हामीले अब व्यवहारिक कुरा, देश बनाउने कुरा, जनतालाई आम्दानी हुने र उनका खल्तीमा कसरी पैसा पुुग्छ, कमाइ कसरी हुन्छ र उनीहरुको आम्दानी र खर्चमा खर्च कटाएर आम्दानी बचतमा कसरी जान्छ भन्ने कुरालाई ध्यान दिनुपर्‍यो । यदि जनतालाई बचतको स्थितिमा पुर्‍याउन सक्यौँ, हरेकको आम्दानी बचतको स्थितिमा जान सक्यो भने देश धनी हुन कुनै समय लाग्दैन । गरिबी त निवारण भयो भने देश पनि धनी हुन्छ । यी कामहरुमा लागौंँ ।

हामी शिक्षकहरु पनि हो । मेरो आग्रह के छ भने, हामी आफूलाई कहिले कहिले नेता ठान्ने, प्रवृत्ति देखिन्छ । मिडियाका खपतका लागि बोल्ने, मिडियाको खपतका लागि बोल्न जरुरी नै छैन, देशको खपतका लागि बोलौँ, जनताको खपतका लागि बोलौँ । जनताको जीवनमा परिवर्तन ल्याउनका लागि बोलौँ । हाम्रो शैक्षिकस्तर बढाउनका लागि बोलौँ । हाम्रो स्वास्थ्यस्तर उठाउनका लागि बोलौँ । मलाई खुशी लागेको छ, मैले अघिल्लो पटक तीन सय ९६ वटा आधारभूत तहका पाँच/दश/पन्ध्र शय्याका अस्पतालहरु एकैपटक शिलान्यास गरेका थिएँ । त्यसले बीचमा केही तलमाथि परे पनि धेरैवटा बनिरहेका छन्, कतिवटा बनेर पनि आफैँले त्यसको उद्घाटन गरिसकेको छुु, कति राम्रै चल्न थालेका छन् र कति राम्ररी चल्ने अवस्थामा पुुगेका छन्, कति त अहिले निर्माणाधीन अवस्थामा छन् ।

कतिपय मान्छेहरुले मलाई भन्छन् र भने पनि पालिका–पालिकामा किन आधारभूत अस्पतालहरु किन चाहिए ? त्यो स्वास्थ्य सुविधा पालिका पालिकामा किन चाहियो ? आज एउटा पालिका भनेको हिजोका धेरैवटा गाविस हुन् । हिजोका गाविस त अहिलेको एउटा वडा बनिराखेको छ । धेरैवटा गाविसलाई वडामा मिलाएर अहिले पालिका बनेको छ । पालिकाको जनसङ्ख्या ठूलो छ । हाम्रो डाँडाकाँडा भएको दुर्गम देश छ । त्यहाँ यदि प्राथमिक तहको पनि स्वास्थ्य सुविधा छैन भने मान्छे मर्छ । त्यसकारण हामीले अति जटिल, अति गम्भीर विषयहरुमा हेलिकप्टर उद्धार गर्ने, सुत्केरी हुने स्तरमा ती प्रबन्ध गर्‍यौँ भने आधारभूत अस्पतालको प्रबन्ध गर्‍यौँ । त्यसै गरेर शिक्षा क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा हामीले थुप्रै कामहरु गर्‍यौँ । फेरी पनि गर्नुपर्छ, जसको फेहरिस्त हामीले के के काम गर्‍यौँ, कसरी अगाडि बढ्ने, मैले एउटा डिरेक्शनको मात्रै कुरा गरेको हो । हामी कसरी काम गर्दैछौँ, कसरी अगाडि बढ्दैछौँ र कसरी अगाडि बढ्नुपर्छ भनेर ।

उत्पादनका लागि हामीले विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्दछ । शिक्षाका लागि हामीले विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्दछ । स्वास्थ्यका लागि हामीले विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्दछ । आधुनिकता र देशको आधुनिकीकरणका लागि मानव जातिले विकास गरेका सुविधाहरु जस्तो यो सभाहल । यो वातानुकूलित छ । बाहिर गर्मी छ, यहाँ गर्मी छैन । यो मानव जातिले विकास गरेका सुविधाहरुको हामीले प्रयोग गरिराखेका छौँ । यी डेक्स, टेबल, माइक, विजुली, कुर्सी टेबल सबै कुराहरु हामी मानव जातिले प्रयोग गरी आएका र प्रयोग गर्न पुगेका हौँ । पहिले नपुगेको हो, अहिले विकासले अगाडि बढाएको कुराहरुको प्रयोग गर्ने ठाउँमा पुगेका छौँ । हामी दुनियाँ सँगसँगै अगाडि बढिरहेका छौँ । अन्यत्र विकसित देशका सभाहल पनि यस्तैयस्तै हो । यसैगरी बसेको हुन्छ, यस्तैगरी चलाएको हुन्छ, यस्तै टेबल कुर्सी हुुन्छन् । त्यहाँ पनि सुनका र चाँदीका हुँदैनन् । हामी अगाडि बढिरहेका छौँ  ।

विकास केही भएन होइन, थुप्रो भएको छ । आज ३३ प्रतिशत महिला संसदमा हुनुहुन्छ, आरक्षित छ । अरु थुप्रै क्षेत्रहरुमा आरक्षित गरी हामीले अगाडि बढाएका छौँ । तर हामीले बढाउनुपर्ने आरक्षण होइन, क्षमतावृद्धिका अवसर पाऔँ, क्षमता बढाउन पाऔँ, छोराछोरी राम्रो ठाउँमा पढाउन पाऔँ, उनीहरुको क्षमता बढाउन पाऔँ, उनीहरुलाई दक्ष नागरिक बनाउन पाऔँ । हाम्रा प्रयास त्यसमा हुनुपर्छ । हामी युवा, विद्यार्थी, बालबालिकाको राम्रो स्याहारसम्भार र तिनलाई उचित ढङ्गले भविष्यका योग्य र सक्षम नागरिक बनाउने कामतिर लागिराखेका छौँ । हामी हिंड्नुपर्ने आजको बाटो यो हो ।

हाम्रा पूर्खाहरुले भने, विश्व नै एउटा गाउँ हो, वसुदैव कुटुम्वबकम् । सबै हाम्रा दाजुुभाइ दिदीबहिनी हुन् । त्यही भावना फेरि लिएर मानवतावादी चिन्तनका साथ अगाडि बढौं । मानवता सर्वोपरी हो । मानवको हित, मानवको कल्याण, मानवको भलाइ, भविष्यका लागि वातावरण, वातावरणीय सन्तुलन, पर्यावरणको सुरक्षा र संरक्षण । त्यो किन चाहियो भन्दा मानव जातिको भविष्यका लागि चाहियो । त्यसकारण मानव जातिको भविष्यका लागि आजदेखि नै हामी हाम्रा प्रयासहरुलाई सचेत र योजनाबद्ध ढङ्गले अगाडि बढाउन क्रियाशील भएका छौँ ।

मैले विश्वास लिएको छु, यस प्रदेशलाई यो प्रदेशसभाले त्यसैगरी नेतृत्व दिनेछ र अगाडि बढाउनेछ । यो प्रदेशसभाले राम्रा कानुनहरु तुर्जमा गर्नेछ र तिनको कार्यान्वयन गर्नेछ । सक्रियता र सक्षमताका साथ कार्यान्वयन गर्नेछ, त्यो मैले विश्वास लिएको छु। यदि संघीय सरकारबाट केही गर्नु परेमा सङ्घीय सरकार सधैँ तपाईंहरुको साथमा छ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु । मान्छेहरुले यस्तो भएन र उस्तो भएन भन्ने कुरा र चर्को स्वरमा गर्ने बानी छ । अहिलेको सरकारका लागि चर्को स्वर नै चाहिंदैन । यसो गरौँभन्दा खेरी सहजै बुझिने, सहजै त्यसलाई स्वीकार गर्ने, त्यसमा तर्क गर्ने, बहस गर्ने र यसो गरौं भन्दा गरौँ भन्ने अहिलेको सरकार छ । यो जनताका कुरा सुन्नका लागि, जनप्रतिनिधिका कुरा सुन्नका लागि यो सरकार बनेको हो ।

तपाईंहरुलाई थाहा छ, मैले कति हो कतिपटक अप्रेशन गरेँ, दुईपटक त ‘किड्नी ट्रान्सप्लान्ट’ नै गरेर बाँचेको मान्छे हुँ । कतिपटक कस्ता कस्ता अपर्झट रुपमा अप्रेशन गरेर बाँचेको मान्छे हुँ । म भर्खर ७३  लागेर ७४ पुगें, ठिटै छु भन्नुपर्छ । मैले बुढो भए भन्न मिलेन । म यति दुुःख पाएको पृष्ठभूमिबाट आएर अहिले पनि रातदिन खटिएर किन काम गर्नुपरेको थियो र ! मैले यस देशको मुहार फेर्नका लागि नै राम्रो कामको नेतृत्व गरौँ, अगुवाई गरौँ भनेर यो गर्न खोजेको हो । मलाई कुनै प्रकारको कसैसँग लफडा गर्न मन छैन, कसैसँग वादविवादमा अल्झिन मन छैन । मलाई खाली जनताका कुरा सुन्ने, जनताका आकाङ्क्षा पूरा गर्ने, जनताका भावनालाई सम्बोधन गर्नेमा मेरो रुचि हो । अब मान्छेले नबुझेर कहिले कहिले के के कुरा गर्दिन्छन्, त्यो उनीहरुको कुरा हो । तर म सबैका कुरा सुन्न तयार छु, सबैका कुरामा यथोचित ढङ्गले छलफल र बहस गर्न तयार छु, राम्रा कुरा छन्, ग्रहण गर्न तयार छु । कतिवटा कुरा मिलेका छैनन् भने म सम्झाउन पनि तयार छु । सम्झाएर यसो नगरौँ ठीक हुँदैन, यसो गरौँ भन्न तयार छु ।

म राष्ट्रिय एकताका पक्षमा छु, अनेकताको पक्षमा छँदैछैन । जहिले सुकै पनि मेरो मुखबाट कसैले पनि अनेकता र फाटो ल्याउने कुरा कसैले पनि सुन्नुहुन्न । मैले सदैव राष्ट्रिय एकता, राष्ट्रिय एकता भनेको छु । सधैँ राष्ट्रिय एकता । मैले सधैँ शान्तिपूर्ण वातावरण अगाडि जाऔँ, मेरो सधैँ निवेदन त्यही छ सबैसँग । म यस प्रदेशको उन्नतिका लागि अत्यन्तै ब्यग्र छु । तपाईंहरुका प्रयासमा मेरो सदैव साथ, सहयोग रहने छ, म साथै छु । कोशी प्रदेशका जनताको सुखका लागि, खुसीका लागि र समृद्धिका लागि म सधैँ क्रियाशील रहनेछु ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते कोशी प्रदेशसभामा गर्नुभएको विशेष सम्बोधनको सम्पादित सामग्री)

Leave a Reply

Your email address will not be published. Required fields are marked *