काठमाडौ । पूर्वराजा आइतबार पोखराबाट काठमाडौं फर्कदा त्रिभुवन विमानस्थदेखि निर्मल निवाससम्मको स्वागत र्यालीमा हजारौं सर्वसाधारण सहभागी भए । मानिसहरुको सहभागिता हेर्दा गणतन्त्रवादीलाई चुनौती नै थियो । कतिपयले यसलाई व्यवस्थामाथिको चुनौतीका रुपमा व्याख्या गरेका छन् भने दलका कतिपय नेताहरुले भने यसलाई खिसिट्यूरीसमेत गरेका छन् । राजावादीको प्रदर्शनको पूर्वसन्ध्यामा माओवादीले तराई–मधेस जागरण अभियान स्थगित नै गरेर नेताहरु काठमाडौं फर्किए । पूर्वराजाको स्वागतमा जनसागर उर्लिएको देखेर दलका नेताहरु भने तिलमिलाएका छन् । कतिले ‘मुटु हल्लिएको छैन’ भने, ‘कतिपयले सच्चिन्छौं, तर राजतन्त्र स्वीकार्दैनौं’ यस्तै यस्तै प्रतिक्रया आइरहेका छन् । माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले त राजावादीको प्रदर्शनलाई काउन्टर दिन प्रदर्शन नै गर्ने तयारीसमेत गरेको छ । जुन दलले जे भनेपनि जनतामा निराशा बढ्दा यस्तो अवस्था आएको भन्नेमा भने नेताहरु सहमत नै छन् ।
हिजो गणतन्त्र ल्याउन सडकमा उत्रेका यिनै जनता आज राजतन्त्रको पक्षमा उभिएपछि राजनीतिक विश्लेषकहरुले दलहरुलाई सच्चिन सुझाव दिएका छन् । उनीहरुले दलका नेताहरुलाई प्रदर्शन गरेर नभई सुशासन र डेलिभरीमार्फत जवाफ दिन सुझाव दिएका छन् ।
राजनीतिक विश्लेषक डा. सूर्यराज आचार्यको यस्तो छ सुझाव
यो संविधान ठीक ढंगले लेखिएन र राज्यप्रणाली परिणाममुखी बन्न सकेन । संविधान र राज्यप्रणालीमा उल्लेख्य सुधार आवश्यक थियो, तर राजनीतिक संस्थापन सत्ताको भागबण्डा र राज्यदोहनमै व्यस्त रह्यो । समय घर्किंदै गयो, तर परिणामहीन र भ्रष्ट राज्यव्यवस्थाका कारण जनआक्रोश चुलिंदै गयो। यो कुनै न कुनै रुपमा प्रकट हुनु नै थियो । अहिले राजाको समर्थनका रूपमा जनआक्रोश सडकमा पोखिंदै छ । यदि बेलैमा राजनीति, संविधान, र राज्यप्रणालीमा सुधार गरी जनअपेक्षित परिणाम दिन सकिएको भए, गणतन्त्रको स्वीकार्यता बढ्ने थियो, र राजसंस्था इतिहासको पानामै सीमित रहन्थ्यो। तर, त्यसो भएन । अब संविधान र राज्यप्रणालीमा गरिनुपर्ने हेरफेरमा राजसंस्थालाई पनि स्थान दिनुपर्ने अवस्था सिर्जना भएको छ । र, यो परिस्थिति सिर्जना गर्ने जिम्मेवार भनेकै वर्तमान राजनीतिक संस्थापन÷नेतृत्व हो । अब पनि चुनाव जितेर कसरी सत्ता हत्याउने, र सत्ता भोग गर्ने भन्ने घातक सोचको निरन्तरता नहोस् । आशा गरौं, मुलुकले सर्वस्वीकार्य निकास पाउने छ ।
वरिष्ठ पत्रकार एवं नागरिक अगुवा नारायण वाग्ले दलहरु सुध्रिुनको विकल्प नभएको बताउँछन् । उनको सुझाव छ, ‘शान्तिपूर्ण प्रदर्शन स्वागतयोग्य हो । दुई ठूला दल मिलेर स्थायित्व दिँदा पनि जनता आस्वस्त छैनन् भन्ने संकेत हो, र दलहरूलाई सुधार गर्ने दबाब हो । दलले आफैं जनअसन्तोषका कारण खोज्नुपर्छ । लोकतन्त्रमाथिको छल रोक, आन्तरिक छलफल गर, लोकतन्त्र कमजोर पार्ने कारक हटाऊ, लोकतन्त्र बलियो बनाऊ !’
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले राजावादीलाई काउन्टर प्रदर्शन गरेर जवाफ दिनुको सट्टा दलहरुले व्यवहारले जनतालाई आश्वास्त पार्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘सरकार र मूलधारका पार्टीले पूर्वराजा र राजतन्त्रवादीलाई राजनीतिक भाषणबाट जवाफ दिने होइन । संविधानको दायराभित्र रही राजतन्त्रसमेत माग गर्न पाउने स्वतन्त्रता उनीहरुलाई पनि छ । भ्रष्टाचार नियन्त्रण, सुशासन, डेलिभरीमार्फत जवाफ दिनुपर्यो किनभने मूलधारका पार्टी डेलिभरी दिने ठाउँमा छन् !’
अर्का राजनीतिक विश्लेषक मुमाराम खनाल दलभित्रको ’राजतन्त्र’ जिवितै राखेका कारण जनता विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको बताउँछन् । उनको भनाई छ, ‘लोकतन्त्रलाई निजी दलतन्त्रमा, दललाई शीर्ष नेतातन्त्रमा र शीर्ष नेतालाई राजतन्त्रमा पतन गराउने आजका भ्रष्ट नेताहरूले के बुझ्नु पर्यो भने दलभित्र आफ्नो ‘राजतन्त्र’लाई जिवितै नराखेको भए सायद बितेको राजतन्त्रले पनि पुनर्जिवित हुने आकांक्षा राख्ने थिएन होला ।’