काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को नेपाल प्रिमियर गरिएको छ । ललितपुरको क्युएफएक्स लाविम मलमा सोमबार साँझ गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल खेलाडीको राम्रो उपस्थिति थियो ।
चलचित्रमा कप्तान सुब्बाको जीवनको सङ्घर्ष र सफलता देखाइएको छ । चलचित्र यसअघि हङ्कङ, बेलायत र दक्षिण कोरियामा प्रिमियर भइसकेको निर्देशक मिलन चाम्सले जानकारी दिए । उनले भने, “विदेशमा भन्दा नेपालमा प्रतिक्रिया राम्रो आएको छ, खेलाडीको जीवनीमा चलचित्र बनाउनु चुनौतीपूर्ण विषय थियो”, उहाँले भन्नुभयो, “चलचित्र एउटा फुटबल खेलाडी र कप्तान सुब्बाका लागि डिजिटल दस्तावेज पनि हुनेछ ।”
चलचित्र हेर्न पुगेका अभिनेता दयाहाङ राईले अञ्जिला सम्झनलायक चलचित्र बनेको बनाए । “खेलप्रेमीका हिसाबले मेरा लागि यो चलचित्रमा जोडिएर काम गर्न पाउनु सौभाग्य हो । खेलाडी र खेलका विषयलाई चलचित्रमार्फत प्रवद्र्धन गर्नुपर्ने बेला आएको छ, अन्य चलचित्रकर्मीले पनि यो आँट गर्नुहुन्छ भन्नेमा विश्वस्त छु”, अभिनेता राईले भने ।
कप्तान सुब्बाका धर्मपिता तथा चलचित्र निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा विश्वास व्यक्त गरे । कप्तान सुब्बालाई काठमाडौँ ल्याएर विभागीय टिम सशस्त्र प्रहरी बलमा भर्ना गराउनुका साथै होस्टेल राखेर पढाएका निर्माता श्रेष्ठले सुब्बाको सङ्घर्ष कनाथक चलचित्रको पटकथाभन्दा कम नभएको बताए ।
निर्देशक चाम्सले कप्तान सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको बताए । “खेलकुदमा आधारित रही चलचित्र बनाउन नेपाली स्रोत र साधनले भ्याएसम्म प्रयास गरेका छौँ । सुब्बाको जीवनको महत्त्वपूर्ण हिस्सालाई चलचित्रमा समावेश गरेका छौँ”, उनले भने ।
चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङ्कन गरेको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्र यही फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ ।