राप्रपाले काठमाडौं महानगरलाई बुझायो एक लाख जरिवाना

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँ महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ । महानगरले तोकेको १ लाख रूपैयाँ जरिबाना राप्रपाले सोमबार बुझाएको हो ।

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपालगायत राजावादी शक्तिहरूले आइतबार जनप्रदर्शन गरेका थिए । त्यसक्रममा सहभागीहरूबाट त्रिभुवन विमानस्थल, तिलगंगा, गौशलालगायत सार्वजनिक क्षेत्रका सडकमा फोहोरमैला र भौतिक क्षति भएको महानगरको दाबी छ ।

महानगरले फोहोरमैला व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐनबमोजिम जरिवाना लगाएको हो । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगरको खातामा १ लाख रकम सोमबार दाखिला गरेको बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्छौं । १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *