-नारायण गाउँले ।
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा जम्मा हुने कसैले योगी आदित्यनाथको तस्बिर बोकेको रहेछ । बस्, हाम्रो गणतन्त्रलाई ठूलो राहत मिल्यो ! देखिस् त ? राजा कसलाई चाहिएको रहेछ ? भन्दै ती तस्बिर शेयर भए । माओत्सेतुङ्को नाममैं पार्टी खोलेर, लेनिनको नाम र झण्डा छातीमा राखेर, विदेशी नेता र शासकका फोटाहरू भित्तामा टाँसेर हिजो राजसंस्थाविरुद्ध आन्दोलन भएको होइन र ? हजारौँ नेपाली मारिने गरी भएका गृहयुद्धहरू विदेशी दर्शन र नीतिमा टेकेर भएका होइनन् र ? अस्ति भर्खर दिल्लीमै बसेर सम्झौता भएका होइनन् र ? स्टालिनदेखि चे ग्वाभारासम्मका तस्बिर तपाईंका शयन कक्षमा छैनन् र ?
हाम्रो सङ्घीयता र वित्तीय साक्षरताका नाममा युएसएआइडीबाट फन्डिङ भएको होइन र ? इतिहासको सबैभन्दा ठूलो दल बनेको नेकपा भन्नेले त चिनियाँ पार्टीबाट खुला रूपमा प्रशिक्षण कार्यक्रम नै चलाएको होइन र ? हाम्रो गणतन्त्र सीताराम एचुरीलगायतका भारतीय नेताहरूले ल्याइदिएको होइन र ? ओलीले संसद विघटन गर्दा हारगुहार गर्दै विदेशी हस्तक्षेपका लागि देउवा, प्रचण्ड र माधव नेपालले सबैतिर चिठी लेखेको होइन र ?
झण्डा, आदर्श र नाम नै त्यसरी विदेशीको बोक्न सहमत भएको भए ज्ञानेन्द्रले नारायणहिटी छोड्न पथ्र्यो र ? गणतन्त्रको अकर्मण्यता र परिवर्तनका नाममा तिनै त्रिमूर्तिको मुसोबिरालोको खेलबाट फ्रस्ट्रेट भएका नागरिकहरू राजाको नाम लिँदै सडकमा ओर्लेको नदेख्नेहरूले पनि आदित्यनाथको त्यो फोटोचाहिँ देखेछन् ।
उसो त लेनिन र माओको बरु सोझो सम्बन्ध हामीसँग छैन । तर आदित्यनाथको जन्म उत्तराखण्डमा भएको हो, जुन कुनै बेला नेपाल नै थियो । र, उनी भारतको गोरखपुरस्थित गोरखनाथ पीठका महन्त हुन्, जहाँको गोरखनाथ मन्दिरका संरक्षक हाम्रै राजा हुने गर्थे । गुरु गोरक्षनाथ दुबैका साझा आध्यात्मिक योगी थिए । नेपाल र खासगरी राजसंस्थासँग सांस्कृतिक र धार्मिक सम्बन्ध भएका योगीको तस्बिर कसैले बोक्दैमा सिङ्गो प्रदर्शन जुठो हुँदैन ।
राजसंस्थाको औचित्यबारे बहस हुन सक्छ । रोमन एम्पायरले दुई हजार वर्षअघि राजा फालेको थियो, ब्रिटिश एम्पायर सकिँदा पनि राजसंस्था छँदै छ । आआफ्नो भूराजनीति, सांस्कृतिक परम्परा र प्राथमिकताका आधारमा आफ्नो शासन व्यवस्था चुन्ने हक नागरिकलाई हुन्छ । हो, राजसंस्थाको निरन्तरतामा जति दम र तर्क त्यसको पुनस्र्थापनामा पक्कै नहोला । तर गणतन्त्र चाहनेहरू पनि नागरिक नै हुन् र राजाको पक्षमा सडकमा उत्रिने पनि नागरिक नै हुन् । विश्वव्यापीकरणको यो युगमा हामी पुटिनको पक्षमा बोल्छौं, डोनाल्ड ट्रम्पको समर्थनमा लेख्छौँ, माओको गुणगान गर्छौँ । हाम्रो पूर्वराजाको पक्षमा अरू बोल्न पनि सक्छन् । गणतन्त्रका लागि त फन्डिङ नै गर्छन् ।
विदेशीले बनाइदिएको सभागृहमा बसेर, आयातित शासन व्यवस्थाकै बलमा कुर्सीमा पुगेर हजारौँ राष्ट्रिय झण्डाको भीडमा देखिएको एउटा योगीको तस्बिरलाई मात्रै औंला उठाउनुचाहिँ तपाईंले सोचेजस्तो भयङ्कर राष्ट्रवादी उपति होइन ।
उपति त दिनरात खटेर काम गर्नु हो, अवसर र सीमित साधनस्रोतको सदुपयोग गर्दै लोककल्याणकारी समुन्नत राष्ट्र बनाउनु हो । चौतर्फी उन्नति, आशा र सुशासन हुने हो भने पूर्वराजा एउटा शहर घुमेर घर फर्किँदा हाम्रो गणतन्त्रमा यसरी सानोतिनो भूकम्प पक्कै आउँदैन ।