काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गद्दी त्यागेपछि प्रजातन्त्र दिवस, नयाँवर्ष, बडादशैंलगायतको समयमा सन्देश जारी गर्दै आएका थिए । विगतका वर्षहरुमा लिखित वक्तव्य जारी गर्दै आएका पूर्वराजाले यसवर्षदेखि भने भिडियो सन्देश जारी गर्न थालेका छन् । यसवर्षको प्रजातन्त्र दिवस फागुन ७ को पूर्वसन्ध्यामा फागुन ६ गते पूर्वराजाले भिडियो सन्देश जारी गरे । पूर्वराजाले सन्देशमा राष्ट्रको वर्तमान परिस्थिति प्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए । सन्देशमा उनले भनेका छन्, ‘अब नेपालको उन्नतिका लागि हामीबाट अरू केके त्याग गर्नुपर्ने हो हामी तयार छौँ। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ।’
पूर्वराजाको यो अभिव्यक्तिपछि नेपाली राजनीति तरंगित भएको छ । पूर्वराजाको अभिव्यक्तिलाई कतिपय नेताले ‘रक्षानमा फालेको भूतप्रेत’ अब फर्किन सम्भव छैन भनेका छन् । कतिपय नेताले भने फेरि शासन गर्ने इच्छा भए पूर्वराजालाई दल खेल्न सुझाव दिएका छन् । दल खेल्न प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रचण्डसम्मले पूर्वुराजालाई सुझाव दिँदै आएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँदै आएका छन् । उनको भनाई छ, ‘राजगद्दीजस्तो एउटा कुर्सीमा त जहाँ पनि राख्न सकिन्छ, होला । खुट्टी देख्दै पत्याइयो ।’
त्यस्तै प्रचण्डले पनि पूर्वराजालाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । प्रचण्डको भनाई छ, ‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदि उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ ।’
पोखरामा रहेका पूर्वराजा आज दिउँसो काठमाडौं आउने कार्यक्रम छ । पूर्वराजालाई विमानस्थलमा स्वागत गर्न राप्रपालगायत राजवादीहरुले उपस्थित हुन आह्वान गरेका छन् । राजावादीले पूर्वराजालाई अब नारायणहिटी भित्राउनेसमेत बताएका छन् । राजावादी चलखेल बढेपछि माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ नै स्थगित गरेको छ । शनिबार रौतहटमा पुगेको अभियान मुलुकको राजनीतिक परिस्थिति र अभियानबारे छलफल गरी थप कार्यक्रम तय गर्ने भन्दै माओवादीले अभियान स्थगित गरेको हो ।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटवार्तामा पनि मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सुरक्षा निकायहरुले राजाको स्वागतमा हुने नागरिक सहभागिता ठूलो सुरक्षा चुनौति रहेको विश्लेषण गरिरहेको भन्ने समाचार विवरणहरु आएका छन् ।
त्यस्तै राजावादीहरुको सक्रियताका विषयमा मन्त्रिपरिषद बैठकमासमेत छलफल भएको बताइएको छ । पूर्वराजाको अभिव्यक्ति र राजावादीहरुको सक्रियता बढेपछि राजनीतिक दलका नेताहरुको अभिव्यक्ति तथा गतिविधि हेर्दा कतै देश २०६४ कै बिन्दुमा फर्कने प्रसव वेदनामा त छैन भन्ने विश्लेषण पनि कतिपयले गर्न थालेका छन् । पोखरा बसाईंमा पूर्वराजाले नागरिकसँग गरेको साक्षात्कार फगत धार्मिक भ्रमण मात्र नभएर एकखालको जनमत सर्वेक्षणकै रुपमा देखिएको छ ।
आज पोखराबाट काठमाडौं आउँदा पूर्वराजालाई स्वागत गर्न कति मानिस विमानस्थल पुग्छन् र त्यसपछि राजावादीहरुको अभियान कसरी अघि बढ्ला, त्यसबारेमा चाहिँ अहिले नै विश्लेषण गर्न हतार हुन्छ । तर पूर्वराजाको अभिव्यक्ति र राजावादीहरुको सक्रियताले चाहिँ झुण्डझुण्डमा छरिएका, एक अर्कालाई गालीगलौज गर्ने, फरक विचार भएका गणतन्त्रवादीहरु चाहिँ एकठाउँमा उभिएका छन् । अरु केही गर्न नसकेपछि पूर्वराजा गणतन्त्रवादीहरुको मुटुमा डरको खिल गाड्न भने सफल देखिएका छन् । यो पूर्वराजाको पावर नै हो ।