काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत उपयोगबापतको महसुल उठाउन कम्मर कसेर लागेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कांग्रेस–एमालेको सरकार गठनलगत्तैदेखि तारोमा परेका थिए । कुलमानलाई हटाउने उद्देश्यले सरकारले असोजयता ६ महिनामा ६ पटक स्पष्टीकरण सोधेको छ । सायद गत बिहीबार सोधेको स्पष्टीकरण नै अन्तिम हुनेछ । किनकी कुलमान हटाउने अन्तिम स्पष्टीकरण नै यो हुनेछ । कार्यसम्पादन सम्झौताको ९.५ अनुसार कुलमानले कार्यसम्पादन मूल्यांकनको विवरण भदौ मसान्तभित्र बुझाउनुपर्ने थियो । तर, त्यो अवधिमा नबुझाएमा के कारबाही हुने भनेर कुनै व्यवस्था नै छैन । ढिलो विवरण बुझाएको अवस्थामा कार्यसम्पादन मूल्यांकन नहुने पनि भनिएको छैन । तर, मन्त्रालयले भने ‘परीक्षा नदिएको विद्यार्थी’ भन्दै मूल्यांकन नै नगरी शून्य अंक दिएको छ । विगतमा फर्किने हो भने ढिला विवरण बुझाउँदा पनि मन्त्रालयले मूल्यांकन गरेको अंक दिएको नजिर छ । ०७३/७४, ०७४/५, ०७५/७६ को कार्यसम्पादनका लागि कुलमानले ढिला गरी क्रमशः ५ पुस ०७४, १८ असार ०७६ र १५ माघ ०७६ मा विवरण बुझाउँदा पनि मन्त्रालयले मूल्यांकन गरेर अंक दिएको थियो । तर अहिले उनलाई हटाउनकै लागि कार्यसम्पादन मूल्यांकनमा प्रतिशोध साधेर शून्य नम्बर दिइएको छ । कुलमान हटाउन सरकार लाग्यो भन्ने हल्ला चलेपछि विपक्षी दलले सदनमा दैनिकजसो विरोध गर्दै आएका थिए ।
विपक्षी दलका सांसदले यसबारेमा उर्जामन्त्रीको जवाफ मागेका थिए । सदनमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उर्जामन्त्री दीपक खड्काले कुलमानको उछितो काड्ने काम गरे । कुलमानको विरोध गर्नेक्रममा मन्त्री खड्काले लोडसेडिङ अन्त्यमा कुलमानको नभई भारतको योगदान रहेको भन्न समेत भ्याए । त्यस्तै उनले लोडसेडिङ अन्त्य गर्न तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेको हात रहेको बताए । उनले भने, ‘०६३/०६४ मा तत्कालीन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणको कार्य गराएको र तत्कालीन एमडी (कार्यकारी निर्देशक) मुकेश काफ्ले रहेको अवस्थामा भएको प्रसारणलाइन निर्माणका कारण लोडसेडिङ मुक्त गर्न सफल भएको हो । यो कार्यमा हालका एमडी (कुलमान)को कुनै योगदान छैन । तर, यसको सम्पूर्ण श्रेय उहाँ आफैँले लिँदै हिँड्ने गर्नुभएको छ ।’
कुलमानलाई शून्य अंक दिएकोमा सांसदहरूले त विरोध गरेका थिए नै । तर विभिन्न क्षेत्रका व्यक्तित्वहरुले पनि कुलमानप्रति सरकारको गरेको व्यवहारको विरोध गरेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले कुलमानलाई शून्य नम्बर दिने कर्मचारी विवेकहीन भएको टिप्पणी गरेका छन् । उनको टिप्पणी छ, कुलमान घिसिङलाई शून्य नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले माइनस ९९नम्बर दिन्छु । त्यसता विवेकहीन कर्मचारीले देश डुवाउँछन् र नेताहरुलाई पंगु बनाउँछन् । अनी आफूलाई दुःख दिने मन्त्रीकै क्षेत्रबाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु ।’ त्यसैगरी पुन अगाडि भन्छन्, ‘नेपालमा चल्ने सबै गाडीहरु भारत र अन्य विदेशीहरुले बनाएका हुन् । डिजेल/पेट्रोल पनि भारतले नै दिएको हुनाले नेपालमा गाडीहरु चलेका हुन् । हामीले खाने लाखौं टन चामल, दाल तरकारी पनि भारतका जनता भोक भोकै हुँदा पनि भारतले नै दिएको हो । यसको लागि पनि भारतलाई धन्यवाद दिनुस् त अमाननीयज्यू !’
त्यसैगरी लेखक जुगल भुर्तेल कुलमानलाई शून्य नम्बर दिनु लज्जास्पद भएको बताएका छन्। उनी सामाजिक संजालमा लेख्छन्, ‘…..लाई भन्दा देख्नेलाई लाज भन्या यही हो । जनताले पनि आफ्नो कार्यसम्पादन मूल्याङ्कन गरिराखेको हुन्छ भन्ने ख्याल नगरी माननीय मन्त्रीज्यू अब हाँसठट्टामा उत्रिनु भएछ । कार्यसम्पादनमा ९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमान घिसिङलाई सरकारले दियो शून्य अंक ।’
अधिवक्ता ज्ञान बस्नेत भारतले लोड्सेडिङ हटाइदियो भन्नु भयानक राष्ट्रघात भएको बताउँछन् । उनी भन्छन्, ‘नेपालमा १८ देखि २२ घण्टे लामो लोडसेडिङ भारतले हटाईदीएको भन्नु भयानक राष्ट्रघात हो, भन्नेहरु राष्ट्रघाती हुन् । राष्ट्रघातीहरु जनताले चिनिराख्नु पर्छ ।’
नेपाल सरकारका पूर्वसचिव मधुरमण आचार्य कुलमानलाई कार्यसम्पादनमा शून्य नम्बर दिने निर्णय रद्द हुनुपर्ने बताउँछन् । उनको टिप्पणी छ, ‘लोक सेवा आयोगको प्रचलनअनुसार अन्तर्वार्तामा कुनै मूल्याङ्कनकर्ताले ४०% भन्दा मुनि र ७० भन्दा माथि अङ्क दिए सो मूल्याङ्कन रद्द हुन्छ । यसरी त ‘शून्य मूल्याङ्कन’रद्द हुनुपर्ने भो ! सिद्धान्तानुसार !!’
राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी उर्जामन्त्रीको अभिव्यक्तिले उर्जा उत्पादकको अपमान गरेको बताउँछन् । उनी भन्छन्, ‘तर्पण दिने बाजेलाई कालो धसेर बिजुली उत्पादन गर्नेहरुको चाहिं लोडसेडिङ अन्त्य गर्न केही योगदान रहेनछ गजब बहस संसदमा । कोहीको भारत कोहीको कुलमान, नेपाली उद्यमीलाई अपमान, हाम्रो नियति !’
कवि अर्जुन पराजुली व्यंग्य गर्दै लेख्छन्,
ए
बल्ल थाहा पाइयो !
लोडसेडिङ त भारतले हटाइदेछ !
हाम्रो हिरो भारत सर !
हातमा लाग्यो जीरो–कुलमान सर !